Radio Unity 92.2MHz

‘सुदूरपश्चिम पशुपन्छीलाई सबैभन्दा कम खोप लगाउने प्रदेश’

डडेल्धुरा: सुदूरपश्चिम पशुपन्छीलाई सबैभन्दा कम खोप लगाउने प्रदेश बनेको छ। पशुपन्छी विभागअन्तर्गको सार्क–आरएसयु कार्यालय त्रिपुरेश्वर, काठमाडौंका अनुसार सुदूरपश्चिम पशुपन्छीलाई सबैभन्दा कम खोप लगाउने प्रदेश बनेको हो।

कार्यालयका प्रमुख पशु चिकित्सक डा.लेखराज दाहालले सुदूरपश्चिमका किसानहरूले आफूले पालेका पशुहरूमा खोप नलगाउने गरेको पाइएको बताए। सोमबार डडेल्धुरामा आयोजित ‘सरकारी तथा गैरसकारी निकायमा कार्यरत पशु स्वास्थ्य जनशक्तिबीच भेटेरिनरी जनस्वास्थ्य प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा उनले सो कुरा बनाएका हुन्।

डा. दाहालका अनुसार पशुपन्छीलाई खोप लगाउने मामलामा कोसी प्रदेश सबैभन्दा अगाडि रहेको छ। उनले कार्यक्रममा आरएसयु कार्यालयको सेवा प्रवाह र पशु रोग नियन्त्रणमा प्रदेश र स्थानीयसँगको समन्वयका विषयमा पनि प्रकाश पारेका थिए। उनले पशुजन्य रोग नियन्त्रणमा तीनै तहको सरकारले समन्वय गरेर काम गर्नुपर्ने औंल्याए।

‘नेपालमा सबैभन्दा बढी भैंसी सुदूरपश्चिममा पाल्छन्, तर यहाँका किसानहरूले आफ्ना पशुमा खोप काम मात्रै लगाइरहेका छन्,’ उनले भने, ‘सञ्चारमाध्यममार्फत रोग र खोपका बारेमा किसानहरूलाई सचेत गराउन आवश्यक छ।’ उनले पशुपन्छीको स्वास्थ्य राम्रो भएमात्र मानवको स्वास्थ्य राम्रो हुने बताए।

कार्यक्रममा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी, कैलालीका प्रमुख डा. नरेशप्रसाद जोशीले एक स्वास्थ्य अवधारणाका साथ अघि बढ्नुपर्ने बताए। पशुपन्छीबाट मानवमा रोगहरू सर्ने गरेको उल्लेख गर्दै उनले पशुमा खोप लगाउनु नितान्त आवश्यक रहेको औंल्याए। उनले सुदूरपश्चिममा नौ प्रजातीका पशुमा रेबिज देखिएको पनि जानकारी दिए।

उनले सुदूरपश्चिममा दूध नउमाली मही दही बनाउने परम्परा अझै रहेकाले यसको अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले काँचो मासु सेवन गर्ने चलनलाई पनि हटाउनुपर्ने बताए।

काँचो मासुु खाँदा स्वास्थ्यमा असर गर्ने र पशुुमा रहेको रोग मानिसमा सर्ने सम्भावन बढी हुने उनको भनाइ थियो। ‘गाईभैंसीले दूध बढी दिन्छ भनेर हाम्रो समाजमा पशु ब्याएपछि साललाई रुखमा राख्ने वा छाड्ने परम्पार छ,’ उनले भने, ‘त्यसले पनि मानव स्वास्थ्यमा असर गर्छ, यसलाई पनि हटाउनुपर्छ।’

एन्टीबायोटिकको प्रयोगभन्दा जैविक सुरक्षा र खोप कार्यलाई बढी प्राथमिकता दिनुपर्ने उनले बताए। विषाणुबाट लाग्ने रोगहरूमा एन्टीबायोटिक प्रयोग गर्न नहुने उनको सुझाव छ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख वरिष्ठ चिकित्सक देवराज भट्टले पशुमा लाग्ने रोग र लगाउनुपर्ने खोपका बारेमा किसानहरूलाई जनचेतना जोगाइराखेको बताए।

उनका अनुसार डडेल्धुरामा विगतका वर्षमा २६ हजार पशुमा लम्पी स्किन रोग देखिएको थियो।

उनले अभियान नै चलाएर जिल्लाको परशुराम नगरपालिकामा ३ हजार ६ सय कुकुरमा रेबिजविरुद्ध खोप लगाइएको बताए। उनले ९४ हजार बाख्रामा पिपिआर खोप लगाइएको पनि जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...