डडेल्धुरा: डडेल्धुरामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा जनार्दन गौतम हाजिर भएका छन्। जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत सहसचिव गौतम बुधबार यहाँ हाजिर भएका हुन्।
प्रजिअ चोमेन्द्र न्यौपानेको गृह मन्त्रालय सरुवा भएपछि नयाँ सिडिओको रूपमा आएका गौतमले शुक्रबार जिल्लास्थित क्रियाशील पत्रकारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरेका छन्।
उनले सरकारी सेवामा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सिडिओ गौतमेले यहाँका सरकारी कार्यालयमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले जिल्लास्थित सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त बनाउनमा आफू लाग्ने पनि बताए। उनले जिल्लामा भइरहेका विकास निर्माणका कार्यमा समन्वय तथा सहजीकरण गर्ने बताए। उनले विकास निर्माणका काममा लापरबाही र गुणस्तरहीन कार्य गर्नेलाई कारबाहीका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए।
यसका साथै उनले जिल्लामा चोरी तस्करी र सीमा नाकामा विषेश निगरानी बढाएर अवैध क्रियाकलाप रोक्ने उनको भनाइ थियो। जिल्लामा आत्महत्याका घटना बढेको देखिएको र त्यसको न्यूनीकरणका लागि आफू कटिबद्ध भएर लाग्ने सिडिओ गौतमले बताए।
‘आत्महत्या न्यूनीकरणको लागि पालिका र टोलसम्म जनचेतनामूलक कार्यक्रम गर्छौं,’ उनले भने, ‘आत्महत्याका विभिन्न कारण हुन्छन्, ती कारणलाई पहिचान गरी सोही अनुरूप सबैसँग समन्वय गरेर काम गर्छौं।’
उनले लागुऔषध नियन्त्रणका लागि मोटरसाइकल र एम्बुलेन्सलाई पनि चेकजाँच गरिने बताए। सार्वजनिक बिदामा बिना पास हिँडेका सरकारी सवारीसाधनहरू चेकजाँच गरिने र पास नभए कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ। उनले सरकारी सवारीसाधनलाई व्यक्तिगत काम प्रयोग गर्नु नहुने बताए।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले प्रजिअ गौतमलाई सूचनामैत्री भइदिन आग्रह गरेका थिए। उनले आफू र जिल्लास्थित कार्यालयका सूचना अधिकारीलाई सूचनामैत्री बनाउने प्रतिबद्धता जनाएका छन्।
यसका साथै उनले बजार अनुगमनलाई तीव्रता दिइने र जिल्ला सदरमुकाम बाहिरका गाउँबस्तीमा रहेको बजार क्षेत्रमा पनि अनुगमनमा बढाउने उनले बताए। ग्रामीण सडक चल्ने गाडीमा क्षमता बढी यात्रु बोकेको पाए ती सवारीसाधनलाई कारबाही गर्न उनले प्रहरीलाई निर्देशन पनि दिए।
बागलुङ घर भएका गौतम डडेल्धुरामा आएका तेस्रो सहसचिव सिडिओ हुन्। यसअघि जगन्नाथ पन्त र बन्धुप्रसाद बास्तोला सहसचिव सिडिओका रूपमा आएका थिए। लामो समयदेखि डडेल्धुरामा उपसचिव सिडिओले कार्यसम्पादन गर्दै आएका थिए।

