डडेल्धुरा: डडेल्धुरामा पनि ‘२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२’ मनाएको छ। आइतबार ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ जिल्लाको अमरगढी नगरपालिका–३ साउँदगाउँमा धान दिवस मनाइएको हो।
हरियाली महिला कृषक समूह साउँदगाउँको आयोजना तथा कृषि ज्ञान केन्द्र डडेल्धुरा, अमरगढी नगरपालिकाको कृषि विकास शाखा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु सुपर जोन) डडेल्धुरा, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रीड) र जलस्रोत तथा सिचाइ डिभिजन कार्यालयको सहयोगमा दिवस मनाइएको हो।
दिवसको अवसरमा जिल्लाका तीन जना किसानलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कार’ २०८२ प्रदान गरिएको छ। कृषि क्षेत्रमा जिल्लामै उत्कृष्ट योगदान गरेवाफत पुरस्कार प्रदान गरिएको र किसानलाई जनही २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ।
पुरस्कृत हुने किसानहरूमा गन्यापधुरा गाउँपालिका–२ का रविन्द्र माली, अजयमेरु गाउँपालिका–१ की चन्द्रकुमारी ओझा र परशुराम नगरपालिका–११ का मिलन घिमिरे रहेका छन्।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले सो पुरस्कारले किसानहरूमा थप उत्साह र प्रेरणा ल्याउने विश्वास व्यक्त गरे।
डडेल्धुरामा ६ हजार एक २० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। असार १५ सम्म जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कार्यालय प्रमुख पनेरुले जानकारी दिए। उनका अनुसार यो वर्ष मनसुन समयमै सुरु भएकाले रोपाइँ गर्न सहज भएको हो।
जिल्लाको भित्रीमधेस क्षेत्र परशुराम नगरपालिका र आलिताल गाउँपालिका धान खेतीका मुख्य क्षेत्र हुन्। यस्तै, भागेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोराल, असिग्राम क्षेत्र, अमरगढीको डोटी घटालमा पनि वर्षे बालीका रूपमा धान खेती हुने गर्छ।
धान दिवस मनाउन साउँदगाउँ पुगेका जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले किसानहरूको सम्मानका लागि उनीहरूकै खेलमा आएर दिवस मनाइएको बताए। जलवायु परिवर्तनका कारण भविष्यमा खाद्य संकट आउन सक्ने भएकाले अहिलेबाटै उत्पादन बढाउनतिर ध्यान दिनुपर्ने उनले बताए।
यस्तै, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले धानमा आत्मनिर्भर हुनेगरी कृषि कर्म गर्नुपर्ने बताए। तरकारी उत्पादनमामा डडेल्धुरा अगाडि रहेको उल्लेख गर्दै उनले अब धान र गहुँ खेतीमा पनि आत्मनिर्भर हुनुपर्नेमा जोड दिए।
‘जमिन बाँझो छ, यहाँका युवाहरू विदेश पलायन भइरहेका छन्,’ सिडिओ गौतमले भने, ‘हाम्रो किनेर खाने प्रवृत्ति छ, अब आयातभन्दा पनि निर्यात गर्नेगरी कृषि कर्म गर्नुपर्छ।’
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरकारी गैह्रसरकारी संघसंस्था, सुरक्षा निकाय, सञ्चारकर्मी तथा स्थानीय किसानहरूको उल्लेख्य सहभागीता रहेको थियो। किसानसँगै दही च्यूरा खाँदै धान दिवस मनाइएको हो। वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्यूरा खाने चलन छ।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।












