Radio Unity 92.2MHz

सहज ढंगले कार्यालयका सूचना उपलब्ध गराउन सिडिओ गौतमको निर्देशन

डडेल्धुरा: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमले सहज ढंगले कार्यालयहरूका सूचना दिन निर्देशन दिएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित ‘सूचना अधिकारी र सञ्चारकर्मीहरूसँग सूचनाको हक कार्यान्वयनसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’मा सहभागी जिल्लास्थित कार्यालयका सूचना अधिकारीहरूलाई सो निर्देशन दिएका हुन् ।

उनले आम नागरिक र सञ्चारकर्मीहरूले मागेका सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार दिन मिल्ने सूचनाहरूलाई सहज ढंगले उपलब्ध गराउन निर्देशन दिए ।

यसका साथै उनले जिल्लास्थित सरकारी कार्यालयका वेबसाइटहरूलाई अद्यावधिक गर्नु पनि आग्रह गरेका छन् । सूचनाका विषयमा सूचना अधिकारी र कार्यालय प्रमुखबीच समन्वय हुनुपर्ने उनको भनाइ थियो ।


‘सूचना अधिकारीको कार्यालयका सबै सूचनामा पहुँच हुनुपर्छ,’ सिडिओ गौतमले भने, ‘सूचना दिनमा कसैले पनि कन्जुस्याइँ नगर्नुहोला।’

अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लास्थित कार्यालयहरूले सूचना दिनमा कन्जुस्याइँ गर्ने गरेको र सूचना माग्दा समाचार नलेखिदिन आग्रह गर्ने गरेको गुनासो गरेका थिए । सिडिओ गौतमले हरेक काम पारदर्शी बनाउन र गुनासो नआउने गरी काम गर्न उनले सूचना अधिकारीहरूलाई निर्देशन दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय, सुरक्षा निकायका सूचना अधिकारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेष्टहरु
Loading...