डडेल्धुरा: माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा डडेल्धुराका स्थानीय तहहरूमध्ये गन्यापधुरा गाउँपालिका सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको एसईईको नतिजाअनुसार न्यापधुरा गाउँपालिकाका विद्यालयहरूबाट सहभागी भएका विद्यार्थीहरूको ग्रेडेड दर अन्य पालिकाहरूको तुलनामा उच्च रहेको पाइएको हो।
गन्यापधुराको ग्रेडेड दर अर्थात् उत्तीर्ण प्रतिशत सबैभन्दा धेरै ४८.१९ रहेको छ। दोस्रो स्थानमा रहेको अमरगढी नगरपालिकाको ग्रेडेड दर ४१.७६ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराले जनाएको छ। त्यसैगरी अजयमेरु गाउँपालिकाका ३३.१८, आलिताल गाउँपालिकाका १९.८७, नवदुर्गा गाउँपालिकाका १९.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परशुराम नगरपालिकाको एसईई नतिजा हरिविजोग नै छ। परशुराममा ग्रेडेड दर १६.९९ प्रतिशत मात्रै रहेको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख खडकबहादुर महताले जानकारी दिए। परशुरामको वैजनाथ मावि सलेता नील नै भएको छ। सो विद्यालयका ३२ जना विद्यार्थी नै ननग्रेडेड भएका छन्।
