- प्रकाश पार्की
डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका सुदूरपश्चिमकै पहिलो पूर्ण संस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बुधबार पालिकालाई प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसूति पालिका घोषणा गरिएको हो।
घरमा हुने प्रसूति शून्य भएपछि पालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले जानकारी दिए।
‘२०७४ सालमा पारित पहिलो नीति तथा कार्यक्रममा समाविस्ट योजना र लक्ष्यअनुसार नै आज पूर्ण संस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना घोषणा गर्यौँ,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमै पहिलो स्थानीय सरकारको रूपमा पूर्ण संस्थागत सुत्केरी सुनिश्चित गर्ने पालिकामा हाम्रो अजयमेरु गाउँपालिकाले आफ्नो नाम दर्ज गरेको छ।’
अध्यक्ष भट्टले उक्त उपलब्धि हासिल गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिए। उनले गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको पनि बताए।
गत आर्थिक वर्ष २०८०/८१ र चालु आव ०८१/८२ को हालसम्म गाउँपालिकामा जम्मा ४०१ गर्भवतीमध्ये गाउँपालिका भित्रका बर्थिङ सेन्टरहरूमा १९१ जना र गाउँपालिकाभन्दा बाहिरका स्वास्थ्य संस्थामा २१० जना प्रसूति भएको पाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश पालले जानकारी दिए। उनका अनुसार जुन शतप्रतिशत संस्थागत प्रसूति भएकाले पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो।
पूर्ण प्रसूति घोषणाको लागि सबै गर्भवतीहरूले नेपाल सरकारले तोकेका स्वास्थ्य संस्थाहरूमा संस्थागत सुत्केरी गराएको कोही पनि गर्भवती घरमा प्रसूति नभएकाले सम्पूर्ण वडाबाट पूर्ण प्रसूति सुनिश्चितता घोषणा तथा भेरिफिकेसनको लागि अनुमति माग भएपछि गाउँपालिकाबाट भेरिफिकेसन गरियो,’ उनले भने, ‘भेरिफिकेसन गर्दा घरमा प्रसूति भएको नभेटिएकोले पूर्ण प्रसूति सुनिश्चिता वडा घोषणा गर्न अनुमति प्रदान गरेका थियौँ। त्यसैअनुसार २०८२ वैशाख ३० गतेदेखि ०८२ असार ३ गतेसम्म सम्पूर्ण वडाहरू पूर्ण प्रसूति सुनिश्चितता घोषणा गरेका थियौँ।’
त्यसपछि स्वास्थ्य कार्यालय डडेल्धुरालाई भरिफिकेसनका लागि अनुरोध गरिएको र सबै प्रकारका भेरिफिकेसनमा घरमा भएको प्रसूति नभेटिएकोले पूर्ण संस्थागत प्रसूति घोषणा पालिका गरिएको स्वास्थ्य शाखा प्रमुख पालले बताए।
अजमेरु गाउँपालिकाले ८ वटा बर्थिङ सेन्टर तथा १२ वटा स्वास्थ्य संस्थामार्फत् सुरक्षित मातृत्वलगायतका अन्य सेवा प्रदान गर्दै आइरहेको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले पूर्ण संस्थागत सुत्केरी पालिका भएकोमा बधाई ज्ञापन गरे। आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा यस्तै किसिमका उत्कृष्ट काम गर्दै नागरिकमाझ सहज ढंगले स्वास्थ्य सेवा पुर्याउन आग्रह गरे।
गाउँपालिका उपाध्यक्ष बसन्ती पालले गाउँपालिकाले सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य तथा स्वास्थ्य संस्थाको पहुँच विस्तारमा विशेष जोड दिँदै आएको बताइन्। प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँगाउँमा पुगेर जनचेतना फैलाउनेदेखि लिएर जोखिमपूर्ण अवस्थामा महिलाहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन सक्रिय भूमिका खेलेको भन्दै उनले प्रशंसा पनि गरिन्।
कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराका पब्लिक हेल्थ नर्सिङ निरीक्षक आशा थापाले यस ऐतिहासिक उपलब्धिले जिल्ला तथा प्रदेशको मातृ तथा नवजात स्वास्थ्य प्रवर्द्धनमा नयाँ प्रेरणा दिने विश्वास लिएको बताइन्। कार्यक्रममा गाउँपालिकाअन्तर्गतका सबै महिला स्वास्थ्य स्वयंसेविका, नर्सिङ स्टाफ र स्वास्थ्य संस्थालाई समेत सम्मान गरिएको छ।




