डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका-७ स्थित साँदनी खोलामा बाढी आउँदा खोलाको बीच टापुमा अड्किएका दुई जनाको सकुशल उद्धार गरिएको छ।
आज (बुधबार) मध्याह्न १२ बजेतिर साँदनी खोलामा बाढी आउँदा परशुराम-६ का १२ वर्षीया रितु भारती र सोही ठाउँकी २५ वर्षीया भुवनेश्वरी सिंह खोलाको बीच टापुमा अड्किएका थिए।
सशस्त्र प्रहरी बल, नेपाल बिओपी तातापानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक दीपक खड्काको कमाण्डमा ७ जनाको टोली र बिओपी साँदनीबाट सशस्त्र प्रहरी नायब निरीक्षक चेतन रास्कोटीको कमाण्डमा ५ जनाको टोलीले दुवै जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बल नम्बर ५२ गुल्म डडेल्धुराका सशस्त्र प्रहरी नायब उपरीक्षक साजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
गाई बाख्रा चराउन गएका उनीहरू खोलामा पानीको बहाव बढी उक्त खोलाको बीच टापुमा अड्किएको थिए। उनीहरू अड्किएको स्थानीयले खबर गर्नासाथ खटिएको १२ जनाको उक्त टोलीमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी थिए।

