डडेल्धुरा: विषालु च्याउ खाँदा डडेल्धुरामा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको आलिताल गाउँपालिका–१ फिन्नेगडा मेलखर्कका ७० वर्षीय देवबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी धनी चन्दका अनुसार साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रेको विषालु च्याउ खाएर बिरामी परेका बोहरालाई आफन्तले दुई दिनपछि मात्र अस्पताल पुर्याएका थिए।
शरीरमा विष फैलिएका कारण उनी गम्भीर अवस्थामा पुगेका थिए। अवस्था जटिल भएपछि साउन ९ गते उनलाई डडेल्धुरा अस्पताल ल्याइएको थियो।
अस्पतालको आईसीयुमा राखेर उपचार गरिएपनि उनको अवस्था सुधार हुन सकेन। मंगलबार साँझ ४ः५० बजे उपचारका क्रममा बोहराको मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइन्छ।