डडेल्धुरा: स्थानीयहरूबाट चन्दा संकलन गरेर डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा सेवाग्राही प्रतीक्षालय निर्माण गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेले स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिकरूपमा संकलन भएको १ लाख रकम बराबरको व्यवस्थापन गरेर उक्त प्रतीक्षालयको निर्माण गरेको हो।
आफ्नै जग्गामा नभएपनि अस्थायी रूपमा निर्माण गरेर सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी स्याउले जनाएको छ। उक्त सेवाग्राही प्रतीक्षालयको बुधबार डडेल्धुराको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एक कार्यक्रमका बीच उद्घाटन गरे।
कार्यक्रममा बोल्दै प्रजिअ गौतमले जिल्लामा रहेको ट्राफिक पोस्टको भवन नभएकोप्रति दुःख व्यक्त गर्दै ट्राफिक भवन बनाउनको लागि आफू सबैसंग समन्वय गरेर पहल गर्ने बताए। पछिल्लो समयमा ट्राफिक प्रहरीप्रति जनगुनासोको बढेकाले जनगुनासो नआउने गरी काम गर्नसमेत निर्देशन दिए।
कार्यक्रममा डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले प्रतीक्षालय निर्माणले यात्रुका लागि केही हदसम्मा भएपनि सजिलो हुने विश्वास व्यक्त गरे। ससना कुरामा जनताको मन जित्न सकिने भएकाले आफू जनताको पक्षमा काम गर्न लागिपरेको उनले बताए।
उनले जिल्लामा रहेका अधिकांश प्रहरी पोस्ट जीर्ण र स्रोतसाधनको अभाव रहेकाले दैनिक कामकाजा समस्य आउने गरेको र भनेको समयमा सेवा दिन नसकेको बताए।
अर्थिक वर्षमा केही प्रहरी पोस्ट बनाउनका लागि बजेट आएकोले केहीको टेण्डर भइसकेको र केही प्रक्रियामा रहेकोले केही समयपछि भने सहज हुनेमा आशावादी रहेको डीएसपी श्रेष्ठको भनाइ छ।
सानातिना काममा राज्यको मुख ताक्नुभन्दा आफैँ अग्रसर भएर लाग्दा छोटो समयमा नै समाजमा परिवर्तन गर्न धेरै सकिने ट्राफिक प्रहरी स्याउलेका इन्चार्ज हर्कबहादुर साउँदले बताए।
कार्यक्रमका अधिकांश वक्ताहरूले कामको उच्च प्रशसा गर्दै ट्राफिक प्रहरीले उदाहरणीय काम गरेको बताए। तर प्रतीक्षालय व्यवस्थापनका लागि अमरगढी नगरपालिकाको तर्फबाट खासै सहयोग नभएकोसमेत गुनासो गरिएको छ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि ,पत्रकार, सुरक्षाकर्मी, चन्दादातालगायतको उपस्थिति थियो।


