Radio Unity 92.2MHz

केआईसिंह राजमार्गमा रात्रिकालीन यात्रा नगर्न डडेल्धुरा प्रशासनको आग्रह

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले केआईसिंह राजमार्गमा रात्रिकालीन यात्रा नगर्न अनुरोध गरेको छ।

प्रशासन सोमबार एक सूचना जारी गर्दै अविरल वर्षाका कारण गन्यापधुरा गाउँपालिका–२ रडुवा खोला नजिक केआईसिंह राजमार्गमा निरन्तर पहिरो आउने क्रम जारी रहेकाले रात्रिकालीन यात्रा नगर्न आग्रह गरेको हो।

‘…अर्को सूचना नआएसम्मको लागि रात्रिकालीन यात्रा बेलुका ७ बजेदेखि बिहान साढे ५ बजेसम्म बन्द गरिएको सर्वसाधारण तथा सबै सरोकारवाला निकायरूमा अनुरोध गरिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

साथै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागहरूमा भारी तथा मध्यम निरन्तर वर्षाको सम्भावना रहेकाले नदीखोलाहरूको सतह बढ्न सक्ने र पहिरोको समेत जोखिम हुन सक्ने भएकाले नदीखोला तटीय क्षेत्र तथा पहिरोको जोखिम भएको भिरालो क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित र सजग रहन तथा अत्यावश्यक कार्यबाहेक अन्य समयमा घर बाहिर यात्रामा ननिस्किन हुनसमेत प्रशासनले अनुरोध गरेको छ।

वर्षादको समयमा प्रत्येक वर्ष रडुवा खोला क्षेत्रमा पहिरो खसेर केआईसिंह राजमार्ग अवरुद्ध हुँदै आएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...