Radio Unity 92.2MHz

डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव’ सुरु [फोटो फिचर]

डडेल्धुरा: सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०८२’ सुरु भएको छ।

विगतका वर्षहरू झै यसवर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा बागबजार बसपार्कमा सुदूरपश्चिम स्तरीय गौरा महोत्सव सुरु भएको हो। बुधवार दिउँसो अमरगढी नगरपालिका नगर प्रमुख डिल्लीराज जोशीले महोत्सवको उद्घाटन गरेका हुन्।

बसपार्क माथि रहेको राधाकृष्ण मन्दिरबाट गौरा, महेश्वरलाई फाग गाउँदै महिलाहरूले बसपार्कमा बालो नाच प्रदर्शन गरेका थिए। यसका साथै चैत पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जोशीले संस्कृतिमा सुदूरपश्चिम सबैभन्दा धनी रहेको बताए। उनले पछिल्लो समय गौरा राष्ट्रिय पर्वको रूपमामा विकास भइरहेको बताए। गौरा पर्वले आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने उनको भनाइ थियो।

अमरगढीका निवर्तमान नगर प्रमुख विशेश्वरप्रसाद ओझाले गौरा महोत्सवले यहाँको भाषा, कला, संस्कृति जगेर्नामा ठूलो टेवा पुग्ने बताए। गौरा निकै महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै उनले यसलाई सुदूरपश्चिममा मात्रै नभई देश र विदेशका विभिन्न ठाउँमा मनाइने थालिएको बताए।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आत्मीयता, सद्भाव र आपसी एकीकरणका लागि गौरा पर्वले महत्वपूर्ण भूमिका खेलेका बताए। उनले कला संस्कृतिमा डडेल्धुरा निकै अगाडि रहेको र पर्वहरूको जगेर्नामा सबैले एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने महोत्सवको उद्देश्य रहेको आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुरा कार्यवाहक अध्यक्ष रमेशप्रसाद जोशीले जानकारी दिए।

महोत्सवमा गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुइचम्फा, हुड्केली, महिला तथा पुरुष देउडाजस्ता सांस्कृतिक कार्यक्रमहरू समावेश छन्।

उनका अनुसार महोत्सवमा सुदूरपश्चिमका विभिन्न जिल्लाका देउडिया कलाकारहरू सहभागी छन्। बुधबारदेखि सुरु भएको महोत्वस गौरा देवीको धार्मिक परम्पराअनुसार भदौ २१ गते बिसर्जन गरी समापन गरिनेछ।

     

सम्बन्धित पाेष्टहरु
Loading...