Radio Unity 92.2MHz

डडेल्धुरा कारागारबाट भागेका कैदीहरू धमाधम समातिँदै, ६१ जना पक्राउ

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका-५ कीर्तिपुरस्थित जिल्ला कारागारबाट भागेका ६१ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। बुधवार बिहान कारागारमा तोडफोड र आगजनी गरेर ८५ कैदीबन्दी भागेका थिए।

तीमध्ये ६१ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए। उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा खोजतलास गर्ने क्रममा शुक्रवार बिहान ९ बजेसम्म ६१ जना कैदी/थुनुवा पक्राउ गरी कारागार कार्यालय डडेल्धुरामा बुझाइ सकिएको छ।

हाल सो कारागार कार्यालयमा १०३ जना कैदी/थुनुवा रहेको तथा अन्यको थप खोजतलास कार्य जारी रहेको प्रहरी निरीक्षक विष्टले बताए।

सुदूरपश्चिम प्रदेशका अन्य कारागारबाट भागेर आएका कैदीहरूलाई जिप्रका डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर डडेल्धुरा कारागार कार्यालयमा बुझाएको उनले जानकारी दिए।

‘डोटीस्थित बालसुधार गृहबाट भागेर फरार भएका दुईजनालाई पक्राउ गरी हाम्रो कार्यालयको बाल निग्रानी कक्षमा राखेका छौँ,’ प्रहरी निरीक्षक विष्टले भने,’कञ्चनपुर कारागारबाट भागेर फरार भएका एक कैदी इलाका प्रहरी कार्यालय जोगबुढाको नियन्त्रणमा छन्।’

साथै सम्बन्धित जिल्लाका कैदी/थुनुवाहरूलाई सोही जिल्लामा बुझाउने कार्य जारी रहेको पनि उनले जानकारी दिए।

नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन्। तोडफोड र आगजनीबाट डडेल्धुरा कारागारमा सामान्य क्षति पुगेको बताइन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...