Radio Unity 92.2MHz

रीडको सहयोगले फेरियो धमलेकको मुहार, तरकारी खेतीबाट वर्षमै ६ लाखसम्म आम्दानी

  • प्रकाश पार्की

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–१ स्थित धमलेक पछिल्लो समय व्यावसायिक तरकारी खेतीको हबका रूपमा स्थापित हुँदै गएको छ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर (रीड) कार्यालय डडेल्धुराको सहयोगपछि यहाँका किसानहरूको जीवनस्तरमा उल्लेखनीय परिवर्तन आएको छ। धमलेकका १९ जना युवाहरूले घटाल नमूना कृषक समूह गठन गरी आधुनिक प्रविधिमा आधारित तरकारी खेती थालेका छन्।

रीडको तरकारी खेती उपआयोजनाअन्तर्गत उक्त क्षेत्रमा ७२ लाख ६० हजार ३४१ रुपैयाँ बराबरको लगानी भएको छ। यसमध्ये ३५ लाख ४९ हजार ९९९ रुपैयाँ अनुदानका रूपमा रीडबाट समूहले प्राप्त गरेको कार्यालय प्रमुख पशुपति नाथले जानकारी दिए।

हाल किसानहरूले ९८ वटा पोलिहाउसमार्फत विषेश गरेर टमाटर र भेडे खुर्सानीलगायत तरकारी उत्पादन गरिरहेका छन्। स्थानीय किसान प्रिन्सराज अवस्थीका अनुसार यसअघि परम्परागत खेतीमै सीमित रहेको धमलेक अहिले व्यावसायिक कृषितर्फ उन्मुख भएको छ।

पोलिहाउस प्रविधि अपनाएपछि किसानहरूले वर्षमा २ लाखदेखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन्, जसले उनीहरूलाई आत्मनिर्भर र व्यावसायिक बनाएको छ।

युवा किसान त्रिलोक ऐरले तरकारी बिक्रीबाट वर्षमा करिब ६ लाख रुपैयाँसम्म आम्दानी हुने बताए । सबै खर्च कटाएर ४ लाख रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ। यहाँ टमाटर, भेडे खुर्सानी, काउली, आलु र हरियो सागसब्जी उत्पादन भइरहेको छ।

रीडको सहयोगले आधुनिक प्रविधि, लगानी र बजार पहुँच सहज बनेपछि धमलेकका किसानहरूको सोच र जीवनशैलीमै परिवर्तन आएको छ। अहिले धमलेक तरकारी उत्पादनका कारण डडेल्धुरामै उदाहरणीय गाउँका रूपमा चिनिन थालेको छ। यहाँ उत्पालन भएको तरकारी डडेल्धुराका साथै कैलालीसम्म पुग्ने गरेको छ।

यसैबीच, बिहीवार सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उपस्थितिमा घटाल नमूना कृषक समूहले गरिरहेको तरकारी खेतीको स्थलगत अनुगमन पनि गरिएको छ।

अनुगमनका क्रममा परियोजनाबाट भएको लगानी, किसानको आयआर्जन र प्राप्त उपलब्धिबारे जानकारी लिइएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...