डडेल्धुरा: यहीँ चैत १९ गतेदेखि सञ्चालन हुने एसइई परीक्षामा डडेल्धुराबाट ३ हजार ४८ विद्यार्थी सहभागी हुने भएका छन्।
यसवर्ष जिल्लामा एसइई परीक्षा सहभागी हुनेमध्ये नियमिततर्फ एक हजार ९३३ जना र ग्रेडवृद्धि विद्यार्थी एक हजार ११५ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराले जनाएको छ।
परीक्षा सञ्चालनका लागि जिल्लाभर १२ वटा परीक्षा केन्द्र तोकिएका छन्। तीमध्ये नियमित र ग्रेडवृद्धि गरी सबैभन्दा बढी विद्यार्थी बैजनाथ मावि मौरडा परीक्षा केन्द्रबाट ४३५ जना र सबैभन्दा कम असिग्राम मावि रूपालबाट १५९ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
यसैगरी सिद्धनाथ मावि पुन्तुरा परीक्षा केन्द्रबाट ३९६ सहश्रलिङ्ग मावि चमडाबाट ३१८, सिद्धनाथ मावि चन्दनीबाट २५३ उग्रतारा मावि पोखरा परीक्षा केन्द्रबाट २४८ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक रमेशबहादुर जनालले जानकारी दिए।
उनका अनुसार महेन्द्र मावि खलंगा परीक्षा केन्द्रबाट २४६, कृष्णाकालिका मावि भीमनगर घरेलुबाट २४१, भुवनेश्वरी मावि बडबाट २१०, भागेश्वर मावि कटालबाट १९६, दुर्गा मावि डोलाबाट १८६ र गणेश मावि बडाल परीक्षा केन्द्रबाट १६० जना विद्यार्थी सहभागी हुँदै छन्।
केन्द्राध्यक्ष चयन गरी गत वर्षझैँ यसवर्ष पनि परीक्षालाई स्वच्छ, मर्यादित र सभ्यरूपमा सञ्चालन गर्ने तयारी भइरहेको प्राविधिक सहायक जनालले बताए। गतवर्षको एसइईमा जिल्लाभर २७.५१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए।
कहाँ कति विद्यार्थी?




