डडेल्धुरा: अजयमेरु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयहरूमा नयाँ शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान वैशाख ८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।
सोही दिनदेखि पाठ्यपुस्तक वितरण कार्यसमेत सुरु गरिने जनाएको छ। गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट विकासद्वारा जारी सूचनाअनुसार विभिन्न सरोकारवालासँग गरिएको छलफलबाट प्राप्त सकारात्मक सुझावका आधारमा उक्त निर्णय गरिएको हो।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न स्थानीय तहहरूलाई जानकारी गराएको थियो। तर अजयमेरु गाउँपालिकाले स्थानीय आवश्यकता र सुझावलाई ध्यानमा राख्दै समय अगावै भर्ना अभियान सुरु गर्ने निर्णय गरेको अध्यक्ष भट्टले बताए।
गाउँपालिकाले वैशाख १५ गतेदेखि भने नियमित पठनपाठन सुचारु गरिने जानकारी दिँदै सम्पूर्ण विद्यालयलाई आवश्यक तयारी गर्न अनुरोधसमेत गरेको छ।
