डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सेवाग्राही तथा सरोकारवालाहरूका गुनासा, उजुरी र सुझाव सहज रूपमा संकलन गर्न डिजिटल सुझाव पेटिका सञ्चालनमा ल्याएको छ।
कार्यालयले बिहीवार एक सूचना जारी गर्दै सार्वजनिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको उक्त प्रणालीमार्फत प्रशासन कार्यालयबाट प्रदान गरिने सेवासँगै जिल्लाभित्र रहेका सरकारी तथा अर्धसरकारी निकायहरूबाट उपलब्ध सेवासम्बन्धी गुनासा, उजुरी तथा सुझाव दर्ता गर्न सकिने जनाएको छ।
कार्यालयका अनुसार अब सेवाग्राहीहरूले क्यूआर कोड स्क्यान गरेर अनलाइन माध्यमबाट आफ्ना सुझाव, गुनासा तथा उजुरी पठाउन सक्नेछन्।
प्राप्त गुनासा तथा सुझावलाई सार्वजनिक सेवा प्रवाह सुधारका लागि महत्वपूर्ण आधारका रूपमा उपयोग गरिने कार्यालयले जनाएको छ। साथै, सुझाव तथा गुनासोकर्ताको विवरण पूर्ण रूपमा गोप्य राखिने पनि सूचनामा उल्लेख गरिएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले डडेल्धुराका सरकारी सेवा प्रदायकहरूको सेवा सुधार अभियानमा सहभागी भई आफ्ना गुनासा तथा सुझाव उपलब्ध गराउन सबै सरोकारवालालाई आग्रह गरेका छन्।
प्रशासनले जारी गरेको सूचना–
