डडेल्धुरा: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुप्रसाद कोइरालाको पाँच महिनामै सरुवा भएको छ। बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत कोशी प्रदेशमा कामकाजमा खटाउने निर्णय गरेको हो।
सरकारले बिहीबार २५ जना सहसचिवको सरुवा गर्ने क्रममा कोइरालाको पनि जिम्मेवारी हेरफेर गरेको हो। कोइरालाले २०८२ मंसिर १२ गतेदेखि डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका थिए।
छोटो अवधिमै उनले जिल्लामा प्रशासनिक सुधार, सेवा प्रवाहलाई चुस्त बनाउने प्रयास तथा विकास निर्माणमा देखिएको ढिलासुस्ती हटाउन सक्रिय भूमिका खेलेका थिए।
उनको कार्यकालमा प्रतिनिधिसभा सदस्य निर्वाचन जिल्लामा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको थियो। साथै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यान्वयनमा समेत उनले तीव्रता दिएका थिए।
पछिल्लो समय सरकारको स्पिरिटअनुसार जिल्लामा परिणाममुखी काम गरिरहेका कोइराला नागरिकमाझ कुशल, अनुशासित र प्रभावकारी प्रशासकका रूपमा परिचित बनेका थिए। उनको ठाउँमा नयाँ प्रमुख जिल्ला अधिकारी भने पठाइएको छैन।