Radio Unity 92.2MHz

कार्यालय प्रमुखलाई सांसद जोशीको निर्देशन– अधुरा विकास निर्माणका काम चाँडो सक्नू

डडेल्धुरा: प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशीले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूलाई विकास निर्माणका अधुरा तथा अपुरा कामहरू तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन्।

सोमवार जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद जोशीले निर्माण क्षेत्रमा धेरै काम अधुरा रहेको उल्लेख गर्दै कर्मचारीहरूको लापरबाहीका कारण काम भएन भन्ने धारणा अन्त्य गर्नुपर्ने बताए।

उनले लामो समयदेखि सम्पन्न हुन नसकेका योजनाहरूलाई प्राथमिकतामा राखी चाँडो काम अघि बढाउन आग्रह गरे। सडक, पुल, खानेपानीलगायत पूर्वाधारका कामहरू तत्काल अगाडि बढाउन निर्देशन दिँदै उनले सबै निकायबीच समन्वय गरेर परिणाममुखी ढंगले काम गर्नुपर्ने बताए।

उनले भने, ‘कर्मचारीहरूको लापरबाहीका कारण काम भएन भन्ने धारणा अब तुरुन्त हटाउनुपर्छ। अधुरा–अपुरा कामहरू पूरा कसरी गर्ने भन्नेमा केन्द्रित हुनुस्। सडक, पुल, खानेपानीलगायतका काम तुरुन्त अगाडि बढाउनुस्। एकअर्कासँग सहकार्य गरेर जनताले अनुभूति गर्ने गरी काम गर्नुस्।’

सांसद जोशीले कर्मचारीहरूलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै सिर्जनशील र प्रभावकारी ढंगले काम गर्न आग्रह गरे। साथै, विद्युतिकरणको काम पनि तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा कार्यालय प्रमुखहरूले नयाँ सरकारको स्पिरिटअनुसार काम गरिरहेको बताएका थिए। उनीहरूले सांसद जोशीसमक्ष आफ्नो कार्यालयको कार्यप्रगतिबारे ब्रिफिङसमेत गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...