Radio Unity 92.2MHz

दूधदानीको प्रयोग बढ्दै जाँदा पूर्ण स्तनपानमा चुनौती

डडेल्धुरा: डडेल्धुरामा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लगायत स्तनपानसम्बन्धी सरोकारवाला निकायहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा अमरगढी नगरपालिकाको समन्वयमा मंगवार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत अमृत विष्टले नेपालमा कुपोषणको अवस्था, स्तनपानको वर्तमान अवस्था तथा पूर्ण स्तनपान दर घट्दै गएको र दूधदानीबाट दूध खुवाउने प्रवृत्ति बढिरहेको विषयमा जानकारी गराएका थिए। उनले शिशुको स्वास्थ्य र पोषणका लागि स्तनपानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै ऐनको पालना गर्न आग्रह गरे।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदले आमाको दूध शिशुका लागि सबैभन्दा उत्तम आहार भएकाले यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए। उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नगर्न व्यवसायीहरूलाई आग्रह गरे। ‘आमाको दूधले आमा र शिशु दुवैलाई स्वास्थ्य लाभ पुग्छ,’ उनले भने।

अभिमुखीकरणमा स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक भवानसिंह कुँवरले ऐनअन्तर्गत आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु, उत्पादक, वितरक तथा स्वास्थ्य हेरचाह गर्ने निकायको परिभाषा तथा जिम्मेवारीबारे जानकारी दिएका थिए।

ऐनअनुसार स्वास्थ्यकर्मीहरूले स्तनपान संरक्षण, सम्बद्र्धन र प्रोत्साहन गर्नुपर्ने, कुनै पनि उत्पादक वा वितरकबाट उपहार वा आर्थिक सुविधा लिन नहुने, उत्पादनको नमूना वितरण गर्न नहुने तथा कुनै पनि प्रकारले प्रचारप्रसार गर्न नहुने व्यवस्था रहेको छ।

त्यस्तै, उत्पादक तथा वितरकहरूले शिशुलाई दूधदानीबाट खुवाउनु स्तनपान बराबर वा त्योभन्दा राम्रो हो भन्ने किसिमका विज्ञापन गर्न नपाइने, निःशुल्क नमूना बाँड्न नपाइने, स्वास्थ्य संस्थाभित्र प्रचारप्रसार गर्न नपाइने तथा स्वास्थ्यकर्मीलाई उपहार वा सुविधा दिन नपाइने व्यवस्था ऐनमा उल्लेख छ।

उल्लंघन गर्नेहरूलाई कसुरको प्रकृति अनुसार जरिवाना, कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ। साथै, दूधदानी र मुन्टो बाहेकका उत्पादन नेपालमा बिक्री वितरण गर्नुअघि केन्द्रीय खाद्य अनुसन्धानशालाबाट प्रमाणीकरण गराउनुपर्ने प्रावधानसमेत रहेको कुँवरले जानकारी दिए।

कार्यक्रमका सहभागीहरूले शिशु स्वास्थ्य संरक्षणका लागि स्तनपान प्रवद्र्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए। कार्यक्रममा मेडिकल व्यवसायी, किराना पसल व्यवसायी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...