डडेल्धुरा: आलिताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा कृष्णानन्द जोशी हाजिर भएका छन्। नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृत जोशी बुधबार आफ्नो जिम्मेवारी सम्हाल्न आलिताल पुगेका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत १९ गते जोशीलाई आलिताल गाउँपालिकामा सरुवा गर्दै खटाएको थियो। यसअघि गाउँपालिकामा लक्ष्मणबहादुर कामी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका थिए।
प्रशासनिक अनुभव र कार्यकुशलताका लागि परिचित जोशी यसअघि परशुराम नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए।
जोशीलाई गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रमबीच स्वागत गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल, अन्य जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जोशीले कर्मचारीलाई केवल हाजिरी गरेर मात्र पूर्ण अंक प्राप्त नहुने भन्दै कार्यसम्पादनमा केन्द्रित हुन आग्रह गरे। उनले कर्मचारीको ढिलासुस्तीका कारण जनप्रतिनिधि आलोचित हुने अवस्था आउन नदिन जिम्मेवार, चुस्त र प्रभावकारी रूपमा सेवा दिन निर्देशन दिए।
सामाजिक सञ्जालमा जनप्रतिनिधिप्रति सकारात्मक धारणा बन्न नसकेको उल्लेख गर्दै उनले त्यसको सुधारमा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए। गाउँपालिकाले गरेको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै जोशीले आफूले पाएको सम्मानको औचित्य पुष्टि हुने गरी इमान्दार र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए। कर्मचारीलाई निर्देशन दिँदै उनले कानुनअनुसारका काम मात्र गर्न आग्रह गरे।
कानुनले नमिल्ने कामको बचाउ आफूले गर्न नसक्ने स्पष्ट पार्दै उनले कुनै पनि दबाब, प्रभाव वा चिनजानका आधारमा कानुनविपरीत कार्य नगर्न सचेत गराए। त्यस्तो कार्य भए त्यसको जिम्मेवारी सम्बन्धित कर्मचारी स्वयंले लिनुपर्ने उनले बताए। नयाँ प्रशासकीय नेतृत्वसँगै आलिताल गाउँपालिकामा सुशासन, पारदर्शिता, सेवा प्रवाह र विकास निर्माणका कामले थप गति लिने अपेक्षा गरिएको छ।
