डडेल्धुरा: १६औं राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगिता वैशाख ३० र ३१ गते आयोजना हुने भएको छ। जिल्ला खेलकुद समिति डडेल्धुराले प्रतियोगिता अमरनगढी नगरपालिका–४ टुँडिखेलमा सञ्चालन गरिने जनाएको छ।
समितिका अध्यक्ष जगतबहादुर ऐरको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको मिति तय गरेको हो। जिल्लाका सातै स्थानीय तह अमरगढी नगरपालिका, परशुराम नगरपालिका, अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र आलिताल गाउँपालिकाबाट छनोट भएका खेलाडीहरूले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन्।
समितिले सबै स्थानीय तहलाई वैशाख २२ गतेभित्र छनोट भएका खेलाडीहरूको नामावली, फोटोसहितको दर्ता फाराम, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा खेल विधाअनुसारको विवरण कार्यालयमा बुझाउन आग्रह गरेको छ।
तोकिएको समयभित्र आवश्यक कागजात नबुझाउने पालिकालाई प्रतियोगितामा समावेश नगरिने स्पष्ट गरिएको छ। प्रतियोगितामा सहभागी खेलाडीहरू स्थानीय तहस्तरबाट छनोट भएका हुनुपर्नेछ र प्रतियोगिता अवधिभर नामावलीमा कुनै परिवर्तन गर्न नपाइने समितिले जनाएको छ।
साथै उद्घाटन कार्यक्रममा सम्बन्धित पालिकाको झण्डा र खेलाडी पोशाकसहित मार्चपासमा अनिवार्य उपस्थिति हुनुपर्ने बताइन्छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौं संशोधन २०७०) अनुसार प्रतियोगिता सञ्चालन गरिनेछ।
