Radio Unity 92.2MHz

अचारबाट आत्मनिर्भर बन्ने अभियान : डडेल्धुराका महिलालाई पाँचदिने व्यवसायिक तालिम

डडेल्धुरा: डडेल्धुरामा अचार उत्पादन व्यवसाय तथा बजारीकरणसम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ। महिला उद्यमी संघ नेपाल डडेल्धुराको आयोजना तथा सामाजिक विकास कार्यालय डडेल्धुराको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो।

महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यसहित वैशाख ३० गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन भएको तालिमले सहभागी महिलामा नयाँ उत्साह र व्यवसायिक आत्मविश्वास थपेको आयोजकले जनाएको छ।

संघकी अध्यक्ष सीता खड्काले अचार उत्पादनका आधुनिक तरिका, गुणस्तर कायम गर्ने उपाय तथा बजार विस्तारका रणनीतिबारे प्रशिक्षण दिइएको बताइन्। उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर महिलाहरूले आफ्नै व्यवसाय सुरु गर्नुपर्नेमा जोड दिइन्।

सामाजिक विकास कार्यालयका प्रमुख मीनबहादुर लामिछानेले महिलाले सीपलाई आयआर्जनसँग जोड्न सके गाउँमै स्वरोजगार सिर्जना हुने बताए। उनले आगामी दिनमा पनि महिलाकेन्द्रित सीपमूलक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

तालिममा सहभागी पद्मा पालले महिलाहरू घरधन्दामा मात्र सीमित नभई व्यवसायिक क्षेत्रमा अघि बढ्नुपर्ने बताइन्। उनले तालिमबाट सिकेका ज्ञान गाउँघरका अन्य महिलासम्म पुर्‍याउने प्रतिबद्धता जनाउँदै यसले महिलाको आर्थिक सशक्तीकरणमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

२२ जना महिलाको सहभागिता रहेको तालिमले डडेल्धुरामा महिला उद्यमशीलताको नयाँ सम्भावना जगाएको सहभागीहरूको भनाइ थियो। स्थानीय उत्पादनलाई व्यवसायमा रूपान्तरण गर्दै महिलालाई आत्मनिर्भर बनाउने अभियानका रूपमा तालिमलाई हेरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...