डडेल्धुरा: लू निभाः बाल सरोकार समूह डडेल्धुराले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सहायता कार्यक्रमअन्तर्गत ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ।
शुक्रबार नवदुर्गा गाउँपालिका–१ का पाँच तथा वडा नम्बर २ का सात विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र पोशाक हस्तान्तरण गरिएको हो ।
संस्थाका जिल्ला कार्यक्रम संयोजक धर्मसिंह ऐरले विद्यार्थीलाई नियमित विद्यालय जान प्रेरित गर्नुका साथै त्यसका लागि आवश्यक वातावरण निर्माण गर्न अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए। उनले बालबालिकाको शिक्षामा परिवार र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर विष्टले संस्थाले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले वडा र गाउँपालिकाले पनि शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। विद्यालयमा भौतिक पूर्वाधार निर्माणदेखि सीसीटीभी क्यामेरा जडानसम्मका काम सम्पन्न गरिएको उल्लेख गर्दै उनले अभिभावकले समेत विद्यालयको नियमित अनुगमन गर्नुपर्नेमा जोड दिए।
यस्तै, वडा नम्बर १ का अध्यक्ष शेरबहादुर साउदले शैक्षिक सुधारका लागि वडा कार्यालयले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बताए। अभिभावक सचेत र जिम्मेवार बनेपछि मात्रै विद्यार्थीको शैक्षिक उपलब्धिमा सकारात्मक परिवर्तन आउने उनको भनाइ थियो। लू निभाः डडेल्धुराले गरेको कामको उनले प्रशंसा गरे।
शैक्षिक सामग्री तथा पोशाक प्राप्त गरेपछि विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन्। कार्यक्रमले विपन्न परिवारका बालबालिकालाई विद्यालयमा टिकाइराख्न र अध्ययनप्रति थप उत्साहित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

