डडेल्धुरा: डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा केसी र मल्लको जोडीले योगेश बोहरा र भरतबहादुर ऐरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।
उपाधिसँगै केसी र मल्लले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यस्तै, उपविजेता बोहरा र ऐरले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए।
उपविजेता बोहरा र ऐरले प्राप्त गरेको १० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
विजेता तथा उपविजेता खेलाडीलाई भागेश्वर गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि हेमराज चटौतले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा अध्यक्ष चटौतले खेलकुदले भाइचाराको विकास गर्नुका साथै स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्वस्थ जीवनका लागि खेलकुद आवश्यक रहेको उल्लेख गरे।
जिल्ला खेलकुद समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताए।
जिल्ला खेलकुद समितिको आयोजनामा समितिकै कभर्डहलमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा १६ टिम सहभागी थिए। सहभागी टिमलाई चार समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो।






