Radio Unity 92.2MHz

जिल्ला भलिबल संघ डडेल्धुराको अध्यक्षमा पन्त चयन

डडेल्धुरा: जिल्ला भलिबल संघ डडेल्धुराको अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले धर्मराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा दिलबहादुर बिष्ट र पार्वती गुरुङ, महासचिवमा पुष्कर देउवा तथा कोषाध्यक्षमा वसन्तसिंह भण्डारी चयन भएका छन्। सदस्यहरूमा भीमबहादुर ऐर, देवेन्द्र अवस्थी, हिक्मत बिष्ट र दिनेश पन्त चयन भएका छन्।

यसअघि चार वर्ष जिल्ला भलिबल संघको नेतृत्व गरेका राजेन्द्र ठगुन्नाले आइतबार सर्वसम्मत रूपमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

ठगुन्नाले आफ्नो कार्यकालमा संघलाई गतिशील बनाउन सहयोग गर्ने जिल्ला कार्यसमिति, नियमित मार्गदर्शन गर्ने जिल्ला खेलकुद समितिका पदाधिकारी तथा कार्यालय प्रमुखप्रति आभार व्यक्त गरेका छन्।

उनका अनुसार आफ्नो कार्यकालमा उमेर समूहको मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिता आयोजना गर्नुका साथै सुदूरपश्चिम खेलकुद परिषद्मा भलिबल संघ दर्ता तथा नियमित नवीकरणको काम गरिएको थियो। संघको नियमित कारोबारका लागि कर कार्यालयमा पान दर्तासमेत गरिएको उनले बताए।

त्यस्तै, २०८१ असोज २० र २१ गते अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता तथा २०८१ चैत १५ देखि १७ गतेसम्म द्वारिकादेवी ठकुरानी सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरपालिका महिला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो।

ठगुन्नाको कार्यकालमा डडेल्धुरा पालिकास्तरीय छात्रा भलिबल प्रतियोगिता २०८२ आयोजना गर्नुका साथै पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा भलिबल खेलाडी कविता भट्टलाई जिताउन अभियानसमेत सञ्चालन गरिएको थियो।

राष्ट्रिय खेल भलिबल स्थापना दिवसका अवसरमा फलफूल वितरण तथा सरसफाइ कार्यक्रममा समेत संघले सहभागिता जनाएको थियो। जिल्लास्तरीय विभिन्न भलिबल प्रतियोगितामा रेफ्री परिचालन तथा व्यवस्थापनको कामसमेत संघले गर्दै आएको ठगुन्नाले बताए।

नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै ठगुन्नाले आफ्नो कार्यकालमा भलिबलको विकासका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सरोकारवालालाई धन्यवाद दिएका छन्।

अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले खेलकुदका माध्यमबाट देशलाई विश्वसामु चिनाउन सकिने बताए।

उनले खेलकुद क्षेत्रको विकासका लागि सहकार्य गर्न आफूहरू तयार रहेको भन्दै भलिबल खेलको वृद्धि र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। पालिकाले खेलकुद क्षेत्रलाई अगाडि बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए।

नवनिर्वाचित अध्यक्ष पन्तको नेतृत्वमा डडेल्धुरामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगितालाई थप व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

 

सम्बन्धित पाेष्टहरु
Loading...