Radio Unity 92.2MHz

डडेल्धुराका थलाल बने सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडी

डडेल्धुरा: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि डडेल्धुराका टेकराज थलाल सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा छनोट भएका छन्। बायाँहाते मध्यम गतिका बलर थलाललाई सुदूरपश्चिमका नौवटै जिल्लामा सञ्चालन गरिएको ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीका रूपमा छनोट गरिएको हो।

सुदूरपश्चिमका स्थानीय क्रिकेट प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजित ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडी सहभागी भएका थिए।

असोज १४ गते बैतडीको दिलासैनीबाट सुरु भएको ट्यालेन्ट हन्ट असोज १५ गते बझाङ, १६ गते डोटी र डडेल्धुरा तथा १७ गते अछाम र बाजुरामा सञ्चालन गरिएको थियो। असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीको प्रतिभा परीक्षण गरिएको थियो। छनोटको अन्तिम चरण असोज २० र २१ गते धनगढी ओभलमा आयोजना गरिएको थियो।

थलाल यसअघि पनि सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाडी हुन्। यसपटक ट्यालेन्ट हन्टबाटै आइकोनिक खेलाडीमा छनोट भएपछि उनले एनपीएलको तेस्रो सिजनमा आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन्।

ट्यालेन्ट हन्टबाट थप छ खेलाडी ‘हिरोज’ का रूपमा छनोट भएका छन्। छनोट हुनेमा कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बम रहेका छन्।

यी छ खेलाडीलाई सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा समावेश गरिनेछ। ट्यालेन्ट हन्टमार्फत प्रदेशका विभिन्न जिल्लामा रहेका क्रिकेट प्रतिभालाई पहिचान गरी टोलीको संरचनामा जोड्ने प्रयास गरिएको सुदूरपश्चिम रोयल्सले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...