सुनिल मण्डेल/बझाङ : छविस पाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यमिक विद्यालयबाट २०७६ सालमा उत्तम मण्डेलले एसईई परीक्षा दिएका थिए । तीन महिनापछि नतिजा पनि आयो । मण्डेल पास भए । सबै उनका सबै साथीहरू माथिल्लो कक्षा अध्ययनका लागि विभिन्न ठाउँमा गए ।
तर, एसईई पास भए पनि उत्तम भने पढ्न जान पाएनन् । कारण थियो, मार्कसिट नआउनु । मजखोजरी विद्यालयबाट एसईई दिएकामध्ये दुई जनाको मार्कसिट आएन, उर्मिला धामी र उत्तम मण्डेलको ।
‘मेरो मार्कसिट नआएपछि म विद्यालयमा बुझ्न गएँ,’ मण्डेल भन्छन्, ‘सरले त्यहाँ मेरो मार्कसिट चैनपुरको अर्को विद्यालयमा गएको बताउनुभयो । उर्मिला र मेरो मार्कसिट सँगै ल्याइदिन्छु भन्नुभयो ।’
एक सातासम्म पनि उनको मार्कसिट नआएपछि फेरि विद्यालयमा गए । प्रअ जनक बोहोराले केही दिन कुर्न आश्वासन दिए । बोहोराको आश्वासन कुरेको तीन वर्ष पुग्न लागिसकेको छ ।
न अहिलेसम्म उत्तमको मार्कसिट नै आयो न उनले माथिल्लो कक्षमा पढ्न नै पाए । ‘पास भएँ भनेर मात्रै नहुने रहेछ, मार्कसिट हातमा नहुँदासम्म कतै भर्ना नपाइने रहेछ’, मण्डेल भन्छन् ।
त्यस्तै मार्कसिट हराएको भनिएकी विद्यार्थी उर्मिला धामीको भने प्रअ बोहोराले चैनपुरबाट ल्याइदिएका थिए । धामीको मार्कसिट पुर्याउन प्रअ बोहोरा घरमै पुगे पनि आफ्नो विषयमा कुनै वास्ता नगरेको मण्डेलको गुनासो छ ।
यतिमात्र होइन, विद्यालयबाट अंक पठाउँदा पनि धेरै कमजोरी हुने गरेको छ । राम्रो जिपीए आउने भए पनि शिक्षकहरूको लापरबाहीले गर्दा आफ्नो जिपीए नै बिग्रिएको अर्का विद्यार्थी युवराज मण्डेलको भनाइ छ ।
ढाई वर्षको अवधिमा ३० पटकभन्दा बढी विद्यालयसम्म धाइसकेका छन् मण्डेल । तर, सँधै प्रअको जवाफ एउटै हुन्छ, ‘म जान पाएको छैन, जाने बित्तिकै ल्याइदिन्छु ।’
मण्डेलसँगै एसईई दिएका विद्यार्थीले कक्षा १२ को परीक्षा पनि दिइसकेका छन् । तर, मण्डेलले न माथिल्लो कक्षा अध्ययन गर्न नै पाए, न उनले फेरि परीक्षा दिन पाएका छन् ।
‘मार्कसिट नआउने भए फेरि परीक्षा दिन्छु भनेको थिएँ । तर, सरले जसरी पनि ल्याइदिन्छु भनेर यतिका समय झुलाउनुभयो । मेरो त जिन्दगी नै बर्बाद भयो’, उनी गुनासो गर्छन् ।
यतिमात्र होइन, विद्यालयबाट अंक पठाउँदा पनि धेरै कमजोरी हुने गरेको छ । राम्रो जिपीए आउने भए पनि शिक्षकहरूको लापरबाहीले गर्दा आफ्नो जिपीए नै बिग्रिएको अर्का विद्यार्थी युवराज मण्डेलको भनाइ छ ।
यस विषयमा स्थानीय सरकारलाई कुनै जानकारी नै छैन । गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र कठायत भने स्थानीय तहमा कक्षा आठसम्मको मात्र समन्वय हुने गरेको बताउँछन् ।
‘एसईईको कुरा हामीसँग सम्बिन्धित हुँदैन । तर, शिक्षा समन्वय इकाईमार्फत भने समस्या समाधान हुनसक्छ । यदि बिग्रिएको खण्डमा विद्यालयले विद्यार्थीलाई सिफारिस दियो भने इकाईमार्फत प्ररीक्षा नियन्त्रण कार्यालयसम्म विद्यार्थी पुग्न सक्छन्’ उनले भने । आफूले यसबारे बुझेर समन्वय इकाईमा खबर गर्ने बताएका छन् ।
मार्कसिट बिग्रिएको खण्डमा कठायतले भनेजस्तै विद्यार्थीले नै विद्यालयबाट सिफारिस लिएर समन्वय इकाई मार्फत परीक्षा नियन्त्रण कार्यालयमा बुझ्न सक्छन् । तर, विद्यालयले सिफारिस दिएको पनि देखिँदैन । मण्डेल त आफ्नो मार्कसिट नै प्रअले बेपत्ता पारेको आरोप लगाउँछन् ।
‘उर्मिला धामी र मेरो मार्कसिट सँगै ल्याउँछु भन्नेभएको थियो । उर्मिलाको मार्कसिट चाहिँ उसको घरमै लगेर पुर्याइदिने । मेरो भने अहिलेसम्म बाहना गरेर नदिने । उहाँले पक्कै पनि मेरो मार्कसिट हराउनुभयो होला’ मण्डेल भन्छन् ।
विद्यालयका शिक्षक राम धामीका अनुसार प्रअ बोहोराले काठमाडौंसम्म पुगे पनि मार्कसिट ल्याउन नसकेको बताएका थिए । ‘यस विषयमा मलाई धेरै जानकारी त छैन । तै पनि हेडसरले काठमाडौंसम्म पुगेँ । केही गरे पनि बनाउन सकिनँ भन्नुभएको थियो रे । बाँकी कुरा उहाँलाई नै थाहा होला ।’
यस विषयमा जानकारी लिन निकै प्रयास गरे पनि प्रअ जनक बोहोराको मोबाइल ९८६४३२५१७१ भने अफ रहेको छ ।