- डा.तीर्थराज भण्डारी
ढाड दुःखाइबाट पीडित हुनेको संख्या निकै धेरै छ। बिरलै कोही होला जसलाई जीवनमा एक पटक पनि यो समस्या नभएको। आज ढाड दुःखइसम्बन्धी साधारण बिरामीमा रहेका भ्रम र त्यसको वास्तविक तथ्यको बारेमा केही जानकारी दिने प्रयास गरेको छु।
भ्रमः अचानक ढाड दुख्ने बिरामी हुँदा एमआरआई अनिवार्य छ।
तथ्यः यदी बिरामीमा गम्भीर प्रकृतिको लक्षण छन् भने मात्रै आवश्यक पर्छ। ७०–९० प्रतिशत बिरामी साधारण दुःखाइ कम गर्ने औषधी र ब्यायमबाट २–४ हप्तामा ठीक हुन्छन्।
भ्रमः पूर्ण आराम र ढाड नचलाई सुते सन्चो हुन्छ।
तथ्य:आरामले झन् ढाडको मान्सपेशी झन् कमजोर बनाउँछ। छिटोभन्दा छिटो आफ्नो नियमित काममा फर्कनु लाभदायक हुन्छ। १–२ दिनभन्दा बढी आराम गर्नु राम्रो हुन्न।
भ्रमः बेल्ट लगाउनाले ढाड दुःखाइ कम हुन्छ।
तथ्यः बेल्टले ढाड दुःखाइ कम गर्दैन, झन लामो समय प्रयोग गर्दा ढाडको मान्सपेशी झन् कमजोर बनाउँछ, जसले गर्दा फाइदाभन्दा बेफाइदा धेरै गर्दछ।
भ्रमः डिस्क बाहिर निस्केको सबै बिरामीलाई शल्यक्रिया आवश्यक पर्दछ।
तथ्य: यदी गम्भीर प्रकृतिक लक्षण देखिएको छ भने मात्रै शल्यक्रिया आवश्यक पर्दछ। ढाडको शल्यक्रियाको जोखिम पनि धेरै भएकोले आवश्यक नपरी गर्नु उपयुक्त मानिन्न।
दुःखाइ मात्रै छ र गम्भीर प्रकृतिको लक्षण छैन भने साधारण औषधी र ब्यायमबाट ठीक हुन्छ। यदी भएन भने कम जोखिमपूर्ण माध्यम (steroid injection,ozone therapy,neuroplasty) बाट ठीक पार्न सकिन्छ।
भ्रमः ढाड दुःखाइ भएका बिरामी सधैं सिधा भएर बस्नुपर्छ।
तथ्य: लामो समय एउटै तरिकाले बस्नाले ढाडलाई झन् खराब गर्दछ। प्रत्येक ३० मिनटमा बस्ने तरिका परिवर्तन गर्नाले ढाड दुःखाइ कम गर्न सयहोग गर्दछ।
भ्रमः calcium/VitD rSsL ले खानाले ढाड दुःखाइ कम गर्न सहयोग गर्दछ?
तथ्य: यदी शरीरमा यसको मात्रा कम छ भने खादा फाइदा गर्छ। अध्ययनअनुसार ढाड दुःखाइ भएका अधिकांश बिरामीमा यसको मात्रा कम नभेटिएकाले यसको त्यति धेरै फाइदा छैन, केही आंशिक सहयोग चाँहि गर्न सक्दछ।
गम्भीर प्रकृतिको ढाड दुःखाइ भनेको के हो?
२० भन्दा कम वा ५५ वर्षभन्दा बढी सुरु भएको उमेर। आन्द्रा वा मूत्राशयको नियन्त्रण गुमाउनु, खुट्टा वा हातमा कमजोरी वा सुन्निने, खुट्टा कमजोर हुनु तथा हिँड्दा खुट्टा कमजोर भएको अनुभूति हुनु, उच्च ज्वरो आउनु, दिशा घर वरिपरि लाटो हुनु वा झम्झम गर्नु वा क्यान्सर भएको बिरामीमा भएमा।
(लेखक भण्डारी राष्ट्रिय ट्रमा सेन्टरका एनेस्थेसियोलोजिस्ट हुन्।)