अवैध रूख कटानमा संलग्न प्रअ र अध्यक्षलाई सरकारी वकिलको राय नलिएरै छाडियो
डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका– ५ मा अवैध रूपमा सिसमका रूख कटानमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई सरकारी वकिलको राय नलिएरै छाडिएको पाइएको छ।
भुवनेश्वरी नमूना मावि परिगाउँका प्रधानाध्यापक डम्बर थ्वाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक बोहरालाई डिभिजन वन कार्यालयले राय नलिएरै छोडेको पाइएको हो।
सरकारी वकिलको राय लिएर छोड्न पाइन्छ यदि सरकारी वकिलको राय लिन सम्भव नभएको अवस्थामा अनुसन्धान अधिकृतले आफै छोडेर सरकारी वकिललाई जानकारी दिनु पर्ने भएपनि प्रअ र अध्यक्षलाई कुनै जानकारी नदिइ छोडिएको जिल्ला न्याधिवक्ता मोहिनी जोशीले बताए।
प्रअ र अध्यक्षलाई चार जनाको जिम्मा जमानीमा डिभिजन वन कार्यालय डडेल्धुराले माघ १३ गते छाडेको थियो। उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइएपछि छाडिएको थियो।
वन ऐनमा मुद्दा हेर्ने अधिकारीले अदालतमा पेश गर्ने र स्वयम् आफैले छोड्ने व्यवस्था रहेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख रामबिचारी ठाकुरले बताए।
गत माघ ३ गते डिभिजन वन कार्यालय डडेल्धुराको अनुमति बिना भुवनेश्वरी नमूना मावि परिगाउँ हाता भित्र रहेका रूख अबैध रूपमा काटिएको थियो। भवन र मैदान बनाउने निहुँमा व्यक्तिगत स्वार्थको लागि कटान गरिएका सिसम, हल्दु, साल र खयरका सयौ रूख कटान गरि लुकाइएको स्थानीयको भनाइ छ।
रूख कटान भएको तीन दिनपछि मात्रै प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको डिभिजन वनले आठ वटा सिसम र दुई वटा हल्दुका रूख कटान गरिएको रिपोर्ट सार्वजनिक गरेको छ। विद्यालय हाता भित्रका साल र खयरका रूख कटान गरिएको भए पनि अनुसन्धानको रिपोर्टमै नभएको विद्यालय व्यवस्थापन समिती सदस्य केशव नाथ बताउँछन्।
अवैध रुख कटान गरि बिक्रि समेत गरिएको गुनासो आए पछि वन कार्यालयले अनुसन्धान गरेको थियो। तर, रूख कटानमा संलग्न भएका भनिएका परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टलाई अनुसन्धान अधिकृत तोकि अनुसन्धान गरिएपछि स्थानीय झन् आक्रोशित भएका छन्।