डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडाकी धर्मादेवी साउदलाई खाद्यान्न सहयोग गरिएको छ। अमरगढी नगरपालिका–४ खलंगा घर भइ हाल जापानमा रहेका समाजसेवी विनय प्रकाश मल्लले उनलाई खाद्यान्न सहयोग गरेका हुन्।
समाजसेवी विनयको सहयोग र स्वतन्त्र युवा एकता टिम डडेलधुराको पहलमा उनलाई खाद्यान्न सहयोग गरिएको स्वतन्त्र युवा एकता टिमका अध्यक्ष सुरत तमोलीले बताए।
साउदसँग खानको लागि चामल पनि नभएको र अरू सँग मागेर खाने अवस्था भएकोले उनलाई समाजसेवी विनयको सहयोगमा बुधबार घरमै पुगेर खाद्यान्न सहयोग गरिएको तमोलीको भनाइ छ।
पारिवारिक अवस्था कमजोर भएकी साउदसँग बस्नको लागि झुपडी मात्रै छ। त्यो पनि जीर्ण अवस्थामा रहेको पारिवारीक स्रोतले जनाएको छ। उनको श्रीमानको २०६५ सालमा रूखले च्यापिएर मृत्यु भएको थियो।
उनका दुई छोरा र एक बुहारी छन्। ‘छोरा कामको सिलसिलामा भारत गएको छ। छोराले पैसा पठाउँदैन्। अहिले साँझ बिहान छाक टार्न समस्या छ,’ साउदले भनिन्।
घरमा समस्या परेको अवस्थामा विनयले सहयोग गरिदिएकोमा उनले धन्यवाद दिइन्। उनलाई पाँच हजार रूपैयाँ बराबरको चामल, दाल, नुन तेल, पिठो र साबुन सहयोग गरिएको हो।