डडेल्धुरा: ‘विद्यालयमा खानेपानी छैन्। खानेपानी नभएपछि शौच गर्न शौचालय त हुने कुरै भएन्,’ उनले भने, ‘नगरपालिकासँग केही सहयोग मागौं भने विद्यार्थी छैनन् भनेर आलटाल गर्न खोजिन्छ।’
उनी अर्थात डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुनढुनेमा रहेको भूमिराज प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐर युनिटी खबरसँग यस्तै गुनासो गरिरहेका थिए।
बाल विकासदेखि कक्षा ३ सम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखमा तथ्याङ्क छ। तर, विद्यालयमा ६ जना विद्यार्थी नियमित रूपमा आउने गरेका छन्।
‘भूमिराज प्राथमिक विद्यालय’ भनेर भित्तामा लेखिएको छ। तर, विद्यालयमा विद्यालयको नाम लेखेको बोर्ड समेत छैन्। झट्ट हेर्दा बाहिरबाट विद्यालयमा पुग्ने जो कोही विद्यालय हो कि होइन भनेर झुक्किन्छन्।
२०५६ सालमा स्थापना भएको यो विद्यालयमा २०५७ देखि पठनपाठन सुरू भएको विद्यालयका प्रधानाध्यापक ऐर बताउँछन्। विद्यालयमा ह्वाइट बोर्ड समेत छैन्। त्यहीँ परम्परागत कालोपाटीमा खरिले लेखेर सिकाउनु पर्ने अवस्था रहेको छ।
‘अहिले प्राथमिक तहका विद्यार्थीले कितावमै लेख्ने सिष्टम आएको छ। केही लेख्नै परे कालोपाटीमा खरिले लेखेर सिकाउँछौं। सम्बन्धित निकायमा पनि खबर गरेका त थियौं तर, विद्यार्थी कम छन् भन्दै आलटाल गर्छन्,’ उनले भने।
विद्यालयमा ६ वटा कक्षाकोठा छन्। एउटामा शिक्षकको लागि अफिस बनाइएको छ। दुईवटा कक्षाकोठामा विद्यार्थी राखिएको छ भने दुई वटामा ताला लगाइएको हुन्छ। बालविकासदेखि ३ कक्षासम्म पढाइ हुने यो विद्यालयमा दुई स्थाइ र एक जना करारमा शिक्षक राखिएको छ।
बाल विकास र एक कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाइन्छ भने कक्षा दुई र तीनका विद्यार्थीलाई सँगै राखेर पढाइने गरेको विद्यार्थी चित्रा ऐरले बताइन्। ‘दुई र तीनमा पढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँछन्। हामी सबैले एउटै कुरा पढनु पर्छ,’ उनले भनिन्।
शिक्षकको मन लाग्दी
कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा अमरगढी नगरपालिकाले नगरभित्रका विद्यालय समायोजन गरेपछि कक्षा तीन सम्म मात्रै पढाइ हुन्छ। विगतका दिनमा विद्यालयमा विद्यार्थीको संख्या उल्लेखनिय रहेको पूर्व विद्यार्थी पवन ऐरले बताए।
‘अहिले विद्यालयमा राम्रो पढाइ हुँदैन्। त्यहीँ भएर अविभावकले यता पढाउन खोज्दैनन्,’ उनले भने, ‘म यतै पढेको थिए। उतैबाट धेरै कुरा सिके। अहिले अवस्था यस्तो छ।
विद्यालयमा शिक्षकको मन लाग्दी हुने गरेको विद्यार्थी बताउँछन्। पढाउने मन लागे पढाउने नत्र छुट्टि भन्दै घर पठाउने गरेको विद्यार्थी ललित ऐरले बताए। उनी भन्छन्, ‘कहिले काँही त विद्यालयमा हामी मात्रै आउँछौं।’
युनिटी खबरको टीम विद्यालयमा पुग्दा विद्यार्थी मात्रै विद्यालयमा थिए। विद्यालयमा हाजिर र भएका शिक्षक र शिक्षिका अफिसमा ताला ठोकेर विद्यालय बाहिर थिए।
विद्यार्थी विद्यालयमा मात्रै भएको मौका छोपेर विद्यालय नजिकका युवा हातमा लाठि समातेर ‘तिमीहरू पढ्दै गर’ भन्दै कक्षा कोठाभित्र अत्तर र चुरोट खाँदै थिए।
हामीहरू विद्यालयमा आएको खबर स्थानीयले दिएपछि विद्यालयका प्रअ विद्यालयमा आए। प्रअलाई देखेका विद्यार्थीले प्रश्न गरे: सर आज चाँडै आउनु भयो त?
जवाफ दिँदै प्रअले भने टिफिन टाइम हो आज सात मिनेट अघि आए।
औधोगिक ग्राम सञ्चालन गर्न विद्यालय सार्ने खेल
अमरगढी नगरपालिकाले विद्यालय नजिक संयुक्त ग्यारेज बनाउने भन्दै डोजर प्रयोग गरेर फिल्ड निर्माण गरेको छ। ९ लाख लगानी लगाएर निर्माण गरिएको ग्यारेज बनाउने काम आर्थिक अभाव भएको भन्दै अलपत्र परेको छ।
अब, सोही ठाउँमा नगरले औधोगिक ग्राम सञ्चालको तयारी थालेका छ। विद्यालय नजिक औधोगिक ग्राम सञ्चालको तयारी थालेको नगरले विद्यालय अन्यत्र सार्न विद्यालयलाई सहयोग नगर्ने गरेको स्थानीयको आरोप छ। भुवनेश्वरी प्राथमिक विद्यालय नजिक संस्थागत विद्यालय सञ्चालनमा छ।
संस्थागत विद्यालय सञ्चालन गर्न नजिकको विद्यालयबाट अनुमति लिनु पर्ने भएपनि भुवनेश्वरी प्राथमिक विद्यालयबाट अनुमति नलिएर विद्यालयबाट निकै टाढा रहेको बैजनाथ मावि मौरडाबाट अनुमति लिएको विद्यालयका प्रअ ऐर बताउँछन्।
बालबालिकाले धेरै टाढाको विद्यालयसम्म जान आउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको अमरगढी नगरपालिकाले जनाएको छ। आउँदो दिनमा यस विद्यालयको विकल्प खोज्ने नगरपालिकाका शिक्षा प्रमुख हेमन्त पन्तको भनाइ छ।
पन्त भन्छन्, ‘त्यो विद्यालयमा वार्षिक रूपमा प्रशासनिक खर्चको लागि अनुदान रकम जान्छ। सेतोपाटी, बालमैत्री कक्षाकोठा व्यवस्थापन लगाएतका काममा उहाँहरूले खर्च गर्नुपर्छ। तर, यी कुराहरू प्रअ र विद्यालय व्यवस्थापन समितीसँग जोडिन्छ। उहाँहरूले ध्यान दिनुपर्छ। हामीहरू अनुगमनका क्रममा गएका छौं। सुझाब पनि दिएका छौं।’