डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ।
बालभिटाको बट्टामा प्रयोग अवधि सन् २०२२ को अगष्टसम्म उल्लेख भए पनि भित्र धूलो डल्लो परेको भेटिएको हो।
बालभिटा भित्र धुलो हुनु पर्ने भएपनि ढिक्का भएको परशुराम नगरपालिका–४ कटाल स्वास्थ्य चौकीका अहेब नन्दराम नाथले बताए। उनले यस्तो समस्या नगरपालिका भरि नै रहेको बताए।
‘जिल्ला स्वास्थ्य कार्यालयबाटै यस्तो पठाएको हो। यता भण्डारणमा समस्या छैन्। सप्लाईमा समस्या हो,’ अहेब नाथ भन्छन्, ‘हामी अहिले यो नै वितरण गरिरहेका छौं, बालभिटा प्रयोग गर्नेहरूलाई डल्लो आएमा प्रयोग नगर्न र धुलो मात्रै प्रयोग गर्न भनेका छौं।’
जिल्ला स्वास्थ्य कार्यालयले परशुराम नगरपालिकामा दुई महिना अघि बालभिटा पठाएको उनी बताउँछन्। उनी भन्छन्, ‘पहिले पठाएकोमा समस्या थियो। अहिले पठाएको ठिक छ।’
बालभिटामा समस्या देखिएपछि वितरण नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको परशुराम नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले बताए।
‘काटुन हामी खोल्दैनौं, साथीहरूबाट डल्लो आएको गुनासो आएपछि प्रयोग नगर्न र स्वयम् सेविकालाई नदिन भनेका छौं,’ उनले भने, ‘उपभोक्तासम्म नपुगेको होला, तर, कसैले जानकारी नपाएर दिएको हुन सक्छ, जिल्ला स्वास्थ्य कार्यालयमा बुझ्दा हामीलाई पनि त्यस्तै आएको भन्नु हन्छ।’
बालभिटा केन्द्र सरकारले खरिद गरेर पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले बताए। उनी भन्छन्, ‘काटुन हामी खोल्दैनौं। माथिबाटै त्यस्तो आएको पनि हुन सक्छ। कहिले काहीँ स्टोरको समस्याले पनि हुन सक्छ।’
एक वर्ष अघि गत फागुनमा स्वास्थ्य कार्यालय डडेल्धुरामा बालभिटा पठाएको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका निमित्त निर्देशक पदम बिष्टले बताए।
उनी भन्छन्, समस्या डडेल्धुरामा मात्रै देखियो, केन्द्रबाट आएको दुई÷चार दिनमा हामीले त्यता पठाएका हौं, त्यता कति होल्ड भयो भन्ने हो। भण्डारणमा समस्या हुन सक्छ, लापरबाहीभन्दा पनि कहिलेकाँही नजानेर पनि हुन सक्छ।’
बच्चा जन्मेको ६–११ महिनासम्म, १२–१७ महिनासम्म र १८–२३ महिनासम्मलाई हुने गरी तीन पटक बालभिटा वितरण हुने गरेको छ। बच्चा जन्मिएपछि २ वर्षभित्रमा उसको ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पु¥याउने स्वास्थ्यकर्मीहरू बताउँछन्।
जन्मेको ६ महिनादेखि २ वर्षमुनिका बालबालिकाका लागि सरकारले बालभिटा निःशुल्क उपलब्ध गराउँदै आएको छ। यसको सेवनबाट बालबालिकामा कुपोषण र श्वासप्रश्वासको समस्या नहुने तथा फूर्तिलो बनाउन मद्दत गर्छ।