डडेल्धुराका नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती
भत्ता बुझ्न घण्टौँ हिँडेर बजार पुग्नुपर्ने बाध्यता
डडेल्धुराः डडेल्धुराका स्थानीय तहहरूले बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ। भत्ता लिन बैंकमा नै धाउनुपर्ने बाध्यता रहेको र यसको मारमा वृद्धवृद्धा पारेको एक कार्यक्रमका सहभागीले बताएका हुन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र अमरगढी नगरपालिका डडेल्धुरा मंगलबार आयोजना गरेको ‘सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका’ विषय जिल्लास्तरीय सार्वजनिक कार्यक्रममा उक्त गुनासो गरिएको हो।
सामाजिक सुरक्षा भत्ता वितरणमा जिल्लामा रहेका पाँच गाउँपालिका र दुई नगरपालिका गरी सातै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन्। सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्नुपरेको नवदुर्गा गाउँपालिकाकी उपाध्यक्ष डम्बरी ओलीले बताइन्।
सबै वडाहरूमा बैंकको पहुँच नहुँदा समस्या भएको उनको भनाइ छ। उनका अनुसार बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले वृद्धवृद्धाहरूलाई निकै समस्या हुने गरेको छ।
भौगोलिक हिसाबले निकै टाढा रहेका गाउँपालिकाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौँ पैदल हिँडेर बजार पुग्नुपर्ने बाध्यता रहेको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए।
जिल्ला ग्रामिण भेगका अधिकांश लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि कम्तीमा दुई–चार घण्टादेखि एक दिन हिँडेर बैंक पुग्ने गरेका छन्। अध्यक्ष गुरुङले बैंकहरूलाई वडास्तरमै शाखा खोलीदिन र त्यहीँबाट भत्ता उपलब्ध गराउन आग्रह गरेको भएपनि उनीहरूले नभ्याएको बताए।
भौगालिक कठिनाइका कारण सबै ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको कार्यक्रमका अन्य सहभागीहरूको भनाइ थियो। अहिले बैंकमा घण्टौँ लाइनमा बस्नुपर्छ। एकातिर समयको खर्च अर्कातिर सरकारले दिएको भत्ता पनि बैंक जाँदा गाडी भाडा र खाना खर्चमै सकिने गरेको छ।
गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले गाउँपालिकाका सबै वडामा बैंकको शाखा विस्तार भएको हुँदा घरदैलोमै भत्ता उपलब्ध गराइरहेको जानकारी दिए। अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले कानूनी बाध्यताका कारण अपाङ्ता भएका व्यक्तिहरू केही समस्यामा परेको बताए।
उनले यसअघि ‘क’ र ‘ख’ वर्गका अपाङ्ता भएकाहरू अहिले कानूनी अड्चन उनीहरू ‘ग’ र ‘घ’ मा परेको हुँदा केही व्यक्तिहरू पत्ताबाट वञ्चित भएको बताए।
गाउँनजिकै बैंक नहुने र टाढा–टाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौँ बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन्। यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकामा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकलाई सास्ती भएको हो।
स्थानीय सरकारमार्फत् सरकारले सामाजिक सुरक्षा भत्ता सहजरूपमा वितरण गरिनुपर्ने लाभग्राहीको माग छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले सामाजिक सुरक्षा भत्ता बुझ्दाका सास्ती सामाधानमा स्थानीय सरकार र बैंकहरूले नै अग्रसर हुनुर्ने औंल्याए।