Radio Unity 92.2MHz

एमाले डडेल्धुरामा चर्कियो असन्तुष्टि, ओझा भन्छन्–‘मेयर पद मल्ल समूहलाई बिक्री गरियो’

डडेल्धुरा: स्थानीय तह निर्वाचन नजिकिएका बेला नेकपा एमाले डडेल्धुरामा असन्तुष्टि बढ्न थालेको छ। आइतबार नेकपा एमालेले नेपाली कांग्रेस बिपीसँग तालमेल गर्ने निर्णय गरेपछि पार्टीभित्रै असन्तुष्टि बढेको हो।

नेकपा एमालेका नेता तथा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपीन)ले आइतबार साँझ पत्रकार सम्मेलनकै आयोजना गरेर आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। तालमेल गर्ने निर्णयमा हस्ताक्षर भएको केही बेरमै पत्रकार सम्मेलन गरी मेयर ओझाले असन्तुष्टि पोखेका हुन्। उनीसहित अन्य केही नेताहरू सहमतिको विरुद्धमा उभिएका छन्।

नगरप्रमुख ओझाले पत्रकार सम्मेलनको सुरुवातमै पार्टीले चलेको गलत कदमका विरुद्धमा पहिलो पटक प्रेस मिट गर्दा आफूलाई दुःख लागेको बताए। एमालेका प्रदेश कमिटी सदस्यसमेत रको ओझाले एमालले कांग्रेस बिपीलाई अमरगढी नगरपालिकाको मेयर पद बिक्री गरेको आरोप लगाएका छन्। यसले सारा एमालेको चित्त दुखेको पनि बताए।

पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै मेयर ओझा।

 

‘एकाएक आज एक समूहसँग सहमति गरेर नगर प्रमुख पद बिक्री गर्ने काम भयो। यसले म मात्रै होइन। सारा एमालेका कार्यकर्ताको चित्त दुखेको छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘जसले २०औँ वर्षदेखि आफ्नो भविष्य देखेर यो पार्टीमा जीवन समर्पित गरेका छन्। यो निर्णयले ती साथीहरूको भावनामाथि ठेस पुगेको छ।’

उनले कुनै पनि छलफल र परामर्शबिना नै गरेको यो सहमति मान्य नहुने बताए। उनले आफूहरूले नगरप्रमुख पाउनुपर्ने धेरै आधार रहेको औंल्याएका छन्। उनले अमरगढीमा प्रमुख छाड्न नसकिनेसमेत दाबी गरेका छन्।

‘हामीले अमरगढीमा नगरप्रमुख पाउनुपर्ने धेरै आधार छन्। यहाँ प्रमुख छाड्न सकिँदैन। अन्य पालिकाका हकमा सहमति गरेर जान सकिएला,’ उनले भने, ‘हामीले निर्वाचन जित्ने प्रसस्त सम्भावना हुँदाहुँदै पनि के आधारमा त्यो सूमह (मल्ल)लाई दिन सहमत भए म यसमा अनविज्ञ छु।’ उनले अमरगढीको नगरप्रमुख पद मल्ल समूहलाई दिने सहमतिप्रति कडा र शसक्त ढंगले लाग्ने पनि प्रतिबद्धता व्यक्त गरे।

आइतबार दिउँसो एमालेले नेपाली कांग्रस (बिपी)सँग जिल्लाका सातै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो। कांग्रस (बिपी)मा नेपाली कांग्रस पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले मिलेको छ। कांग्रेस बिपीमा प्रवेश गरेको मल्ल समूहसँग एमाले गठबन्धन हो।

जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा बिपी कांग्रेसबाट हरिप्रसाद भट्ट नगर प्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने सहमति छ।

परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुख बिपी कांग्रेसका उम्मेदवारलाई दिने सहमति भएको छ। यस्तै, आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेलाई दिने निर्णय भएको छ।

भागेश्वर गाउँपालिकाको अध्यक्ष भने एमालेलाई र उपाध्यक्ष बिपी कांग्रेसलाई दिइने भएको छ। अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र बिपी कांग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा बिपी कांग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेबाट लड्ने सहमति भएको छ।

उता गन्यापधुरामा बिपी कांग्रेसबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने सहमतिमा उल्लेख छ। निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली कांग्रेस बिपीका जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका थिए।

डडेल्धुरामा एमाले र मल्ल पक्षबीच तालमेल

 

सम्बन्धित पाेष्टहरु
Loading...