आलितालको अध्यक्ष/उपाध्यक्षका उम्मेदवार बोहरा र धामीद्वारा प्रतिवद्धतापत्र सार्वजनिक
खाद्यान्नमा आत्मनिर्भर बनाउनेदेखि औद्योगिक ग्रामको स्थापना गर्नेसम्मका कार्यक्रम
डडेल्धरा: नेकपा एकीकृत समाजवादीबाट आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । अध्यक्ष पदका तुलाराम बोहरा र उपाध्यक्षकी उम्मेदवार लक्ष्मी भट्ट धामीले मंगलबार आलितालको समग्र विकासका लागि १७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
‘समुन्नत, विकसित, समृद्ध सुन्दर आलिताल, खुसी र सुखी आलितालबासी हाम्रो सपना’ नारा दिँदै उनले आफ्ना प्रतिवद्धता अघि सारेका छन् । दोस्रो पटक स्थानीय तहको चुनावमा होमिएको उल्लेख गर्दै बोहराले विकसित र सम्बृद्ध आलिताल बनाउन आफ्नो चाहन रहेको बताएका छन् । उनले आफूहरूले राजनीतिप्रति युवाा र जनताको विश्वास आशा र भरोसा जगाउन चाहेको पनि उल्लेख गरेका छन् ।
उनले आफ्नो पार्टीले चुनाव जितेमा आलिताललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले त्यसका लागि सबै कृषि योग्य भूमिमा तीन वर्षभित्र सिँचाइको व्यवस्था, कृषिको आधुनिकीकरण र व्यबसायिकरण गर्ने, सबै वडाहरूमा कृषि सहकारीहरू निर्माण, कृषि मल बीउहरू अनुदानमा दिने बाचा गरेका छन् ।
यस्तै, उनले आलितालमा सुविधासम्पन्न क्याम्पस बनाउने, पालिकामा बहुप्राविधिक ( पोलिटेक्निक कलेज) शिक्षालय निर्माण, सबै मावीहरूलाई प्लस टू निर्माण, बनेका सबै सडकहरूको स्तरोन्नति तथा सबै घरमा बिजुली र सफा खानेपनीको व्यस्थान गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसका साथै पालिकामा सुविधा सम्पन्न अस्पताल, सबै वडामा सामुदायिक औषधि पसल, गाउँपालिकामा राष्ट्रिय स्तरको खेल मैदान, पालिकामा रंगशाला निर्माण, प्रत्येक वडामा खेलकुद क्लबहरू निर्माण, प्रत्येक वडामा कृषि तथा बचत सहकारी स्थापन, कृषिका पकेट क्षेत्रहरु निर्माण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
आलिताल र जोसिना झरना पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमहरू, बेरोजगार युवाहरूको तथ्यांक संकलन, पालिकामा युवााहरूलाई रोजगारीका लागि औद्योगिक ग्रामको स्थापना गर्ने, बहुउद्देश्यीय तालिम केन्द्र निर्मण र गुणस्तरीय र व्यावसायिक शिक्षामा जोड दिइने उपाध्यक्ष पदकी उम्मेदवार धामीले बताइन् ।