Radio Unity 92.2MHz

दुर्गम मलासका मतदाताको माग : स्वच्छ खानेपानी, सडक, विद्युत् र गुणस्तरीय शिक्षा

यसअघिका जनप्रतिनिधिले विकासमा ध्यान नदिएको आरोप

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–७ मलास जिल्लाकै दुर्गम क्षेत्रमा पर्छ। जहाँ स्वच्छ खानेपानी, सडक, विद्युत्, स्वास्थ, गुणस्तरीय शिक्षाको अभावको छ। यी दुःख पीडाहरू मलासबासीले वर्षौंदेखि झेल्दै आएका छन्।

अभावै–अभावमा यहाँका नागरिकले जीवन निर्वाह गरिरहेका छन्। त्यहाँबाट जिल्ला सदरमुकाम आउन एक दिनभन्दा बढी लाग्छ। आसन्न स्थानीय तहको चुनावमा आफ्ना समस्या समाधान गरिदिने जनप्रतिनिधिहरूलाई भोट दिने योजनामा यहाँका नागरिक छन्।

उम्मेदवारहरूसँग मतदाताका १६ बुँदे माग

यहाँका मतदाताले उम्मेदवारहरूसँग विभिन्न १६ बुँदे मागहरू राखेका छन्। सचेत युवा समाज मलासले चुनावमा भोट माग्न आउने उम्मेदवारसामु आफ्ना मागहरू प्रस्तुत गरिरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामै पर्ने मलास क्षेत्र विकासका क्षेत्रमा भने जहिलै पछाडि पर्दै आइरहेको छ। पयटकीय सम्भावना भएको भएतापनि यस क्षेत्रलाई जनप्रतिनिधिहरूले बेवास्था गरेको मलासवासीको गुनासो छ। बिरामी पर्दा डोकोमा बोकेर कञ्चनपुर जिल्लाको महेन्द्रनगर अञ्चल अस्पताल ल्याउनुपर्ने बाध्यता रहेको युवा समाजका अध्यक्ष ह्रदेश धामीले बताए।

विकासमा ध्यान नदिएको आरोप

‘विगतको ५ वर्षमा यता सडक त पुग्यो तर पानी पर्दा सडक अवरुद्ध हुन्छ। विद्यार्थीहरू सोलार टुक्की र सल्लाको झरो सल्काएर गृहकार्य गर्ने गर्दछन्,’ उनले भने, ‘हामी मलासबासी निकै सोझा छन्। यो चिह्नमा भोट हाल्नुस्, यस्तो गर्दिन्छौं, उस्तो गर्दिन्छांै भन्दैमा भोट दियौँ, परिणाम हामीले विगतको ५ वर्षमा भोग्यौं। अनपेक्षित रूपमा हाम्रा मागहरू पूरा भएनन्, अब यसपालि तेसो हामी गर्दैनौं।’

युवा समाजका संयोजक झलक धामीले वडाध्यक्ष केशव बोहरा र मेयर भीमबहादुर साउले मलासको विकासमा ध्यान नदिएको आरोप लगाएका छन्।

‘म कोरियामा वैदेशिक रोजगारिमा छु, मैले वडाध्यक्ष र मेयरलाई फोन गरेर धेरै समस्या सम्झाएँ। तर हाम्रो कुरा नै सुनेन्। आएको बजेट अनुसार काम गरे नगरेको अनुगमन पनि गरेनन् समानुपातिक ढङ्गले बजेट विनियोजन भएन,’ उनले भने, ‘सडक त बनेको छ तर त्यस सडकमा ट्याक्टर पनि जान समस्या पर्छ। खासमा भन्ने हो भने यिनीहरू जनप्रतिनिधि भन्न लायका थिएनन्। सबै कमाइ खाने मात्र हुन्। जनताको दुःख पीडा उस्तै छन्।’

उनले थपे, ‘रोजगारी छैन, गाउँघरमा सिँचाइ सुविधा छैन, खानेपानी पनि सबै ठाउँमा उपलब्ध छैन।’

स्वच्छ खानेपानी, सडक, विद्युत् र गुणस्तरीय शिक्षा

एक वर्षभित्र समग्र मलास क्षेत्रमा विद्युतीकरण विस्तारका लागि आवश्यक कार्य अगाडि बढाइनुपर्ने यहाँका मतदाताहरूको छ। मलास क्षेत्रलाई सञ्चार (टेलिफोन तथा इन्टरनेट) सेवासँग जोडिनुपर्ने, ३ एक वर्षभित्र मलासमा खेल मैदान काम प्रारम्भ गरिनुपर्ने र सडक विस्तार, सफाई तथा स्तरोन्नतिको काम समयमै अगाडि बढाउनुपर्ने आफूहरूको माग रहेको स्थानीय मानबहादुर धामीले बताए।

उनले भने, ‘खानेपानी योजना पुनःनिमार्ण मर्मत सम्भार स्वरूप वर्षेनि बजेट विनियोजन गर्नुपर्दछ। अब आउने जनप्रतिनिधिले खानेपानी अभाव रहेका गाँउहरूमा पानीको उचित व्यवस्था गरिदिनुपर्छ।’

स्वास्थ्य क्षेत्रमा पनि मलास क्षेत्रमा थप्रुै समस्या रहेको अर्का स्थानीय डम्बर धामीले बताए। ‘हाम्रो यहाँ स्वास्थ्य क्षेत्रमा पनि धेरै समस्या रहेका छन्। बर्थिङ सेन्टरको निमार्णका लागि विशेष पहल अगाडि बढाउन प्रतिबद्धता व्यक्त गर्ने उम्मेदवारलाई भोट दिन्छौँ,’ उनले भने, ‘स्वास्थ्य सेवा पहुँचका लागि ठाँउ–ठाँउ गाउँघर क्लिनिक निमार्ण गरिदिनुपर्छ। यहाँ दक्ष जनशक्ति र गुणस्तरीय औषधि उपकरणका लागि आवश्यक पहल गनुपर्छ आउने जनप्रतिनिधिले।’

मलास क्षेत्रमा रहेका ऐतिहासिक तथा प्राचिनकालीन सम्पदाहरू पौराणिक स्थल भिकुण्ड, मल्लकालीन शिलालेख, प्रचिनकालीन कोट, किल्ला, दरबार, प्राचीन कालिन बैजनाथ मन्दिर, सिद्दनाथ मन्दिर, भैरव मन्दिर, भवानी मन्दिर, र ताल तलैयाहरुको संरक्षण, अध्ययन–अनुसन्धान, पुर्निमार्ण तथा पुनःस्थापना गरिनुपर्नेछ।’

रोजगारीसँग जोड्न सीपमुलक कार्यक्रम

यस भेगमा युवा तथा महिलाहरूलाई आत्मानिर्भर तथा रोजगारीसँग जोड्न सीपमुलक कार्यक्रमहरू मलास क्षेत्रमा नै सञ्चालन गरिनुुपर्ने धामीको भनाइ छ। ‘हाम्रो क्षेत्रमा कृषि तथा पशुपालनमा आधुनिकीकरण, व्यवसायीकरण, कृषि पकेट क्षेत्र घोषणा गर्नुपर्छ,’ उनले भने, ‘कुषिसम्बन्धी प्रशिक्षण तथा सीपमुलक कार्यक्रम पनि यहाँ सञ्चालन गरिनुपर्छ।’

गुणस्तरीय शिक्षा, विद्यालय पूर्वाधार निमार्ण, शिक्षक दरबन्दीको व्यवस्था, कम्प्युटर शिक्षा, प्राविधिक शिक्षा तथा कक्षा १२ सम्मको शिक्षाका लागि पहल गरिनुपर्ने माग मलासबासीको छ। यसका साथै स्थानीय ठाउँमा रोजगारीका लागि सोही ठाउँका स्थानीयलाई प्राथमिकता तथा अवसरको सुनिश्चिता गरिनुपर्ने युवा समाजका अध्यक्ष धामीले बताए। आउने जनप्रतिनिधिहरूले मलास क्षेत्रको विकासमा ध्यान दिने विश्वास यहाँका मतदाताहरूले लिएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...