Radio Unity 92.2MHz

डडेल्धुरामा आगलागी नियन्त्रणको ‘डेमो’ प्रदर्शन

डडेल्धुरा: डडेल्धुरामा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। आइतबार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा डेमो प्रदर्शन गरिएको हो।

जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराको आयोजनामा नेपाली सेना रणबम गण, दह ब्यारेकले आगो नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन गरेको हो।

डडेल्धुरा सदरमुकाममा वर्षेनि आगलागीका घटना घट्ने गर्दछन्। भने यहाँका वन अहिले पनि डढेलो लागेर सखाप हुने क्रममा छन्।

डडेल्धुरा बस पार्कमा डेमो मञ्चन भएको हो। डेमोको रिहर्सल अनुसार केही व्यक्तिहरू काफल खान स्याउँलेको जंगलमा जान्छन्। र, उनीहरूले चुरोट सेवन गरेर त्यो त्यत्तिकै फाल्छन्। र, वनमा आगो लाग्न सुरु हुन्छ।

वनमा  लागेको आगो गाउँमा पुग्छ र केही घर पुरै जलेर नष्ट हुन्छ। स्थानीयले हार गुहार गर्छन्। सेनालाई खबर गर्छन्। र, सेनाको टोली आइपुग्छ।  आगलागी निम्तिएको अवस्थामा नेपाली सेनाले कसरी यसको व्यवस्थापन गर्न सक्छ भन्ने तथ्यलाई मार्मिक रूपमा देखाइएको थियो।

डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने? भन्ने कुराको डेमो गरिएको थियो।

त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने?, पीडितको पुर्नस्थापना कसरी गराउने?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने? लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो।

डडेल्धुरामा पटक–पटक आगलागीका घटना भएर धेरै धनको क्षती भएको अवस्था भएकोले आगो नियन्त्रण सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

यो समयमा घट्नसक्ने आगलागी जस्ता विपद्लाई सहजरुपमा अवतरण गर्न सकियोस् भन्ने उद्देश्यले डोमो प्रदर्शन गरिएको उनले बताए।

‘हामी अग्नि नियन्त्रणका लागि जहिल्यै तम तयारी अवस्थामा छौं। हरेक व्यक्ति र समुदायका मान्छेले पनि आगलागी भएमा घरेलु उपाए र आफूसँग भएका साधन स्रोतको उपयोग गरेर धनजनको क्षतीबाट बाँच्न सकिन्छ भनेर डेमो प्रदर्शन गरिएको हो,’ उनले भने।

यसैबीच, सिलिण्डरको रेगुलेटरमा आगो सल्केको अवस्थामा कसरी आगो नियन्त्रण गर्न सकिन्छ भनेर समेत डेमो प्रदर्शन गरिएको छ। पहिलो औंलाको प्रयोग, दोस्रो बाल्टिनले छोप्ने, तेस्रो, बलिरहेको ग्यास सिलिण्डरलाई तन्ना वा पर्दाले वरीपरीबाट बेरेर बाँध्यो भने आगो निभाउन सकिन्छ भनेर डेमो प्रदर्शन गरिएको हो।

सेनाले डेमो प्रदर्शन गरेपछि केही स्थानीयले समेत ग्यास सिलिण्डरमा लागेको आगो निभाएर देखाएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...