डडेल्धुरा: वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि डडेल्धुरामा तयारी तीव्र पारिएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारी तीव्र पारिएको हो ।
जिल्लाभरका ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्रमा कर्मचारीसहित निर्वाचन सामग्रीहरू हिजो नै पुगिसकेको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कूल ९० हजार १ सय १९ मतदाता रहेका छन् ।
जसमा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन् । मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ । जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ ।
निर्वाचन सम्पन्न गराउनका लागि ९ सय ९९ जना कर्मचारीहरू खटिएको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिएका छन् । जसमा ६ सय २१ जना कर्मचारी र ३ सय ७८ जना स्वयंसेवक कर्मचारी रहनेछन् । जिल्लामा मतदाता परिचय पत्र वितरणको काम भइरहेको उनको भनाइ छ ।
जिल्लाभरी मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएकाहरुको मतदाता परिचय पत्र वितरणको काम भइरहेको उनले बताएका छन् । यो कार्य भोलि सम्म जारी रहने जिल्ला निर्वाचन अधिकारी अवस्थीले बताएका छन् । उनले १ सय २६ मतदान केन्द्रमध्ये दुई केन्द्र मात्रै भवनविहीन रहेको जानकारी दिएका छन् ।
जसमा अमरगढी नगरपालिका–४ को टुँडिखेल मदतान केन्द्र र परशुराम नगरपालिका–६ को कुणा मतदान केन्द्र रहेको छ । भवन नहुँदा दुई मतदान केन्द्रमा खुल्ला चौरमा टेन्टको व्यवस्था गर्ने अवस्थीको भनाइ छ । उनले ८० मतदान स्थलमध्ये २१ अति संवेदनशील मतदान स्थल, ४० संवेदनशील र १९ सामान्य रहेको बताएका छन् ।