पाँच वर्षपछि डडेल्धुरेली काँग्रेसमा फर्किएको खुसी
डडेल्धुरा: पाँच वर्षपछि डडेल्धुरेली काँग्रेसमा खुसीयाली फर्किएको छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा काँग्रेसले ‘कमब्याक’ गरेको छ।
नेपाली काँग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्। जोशी र झुकाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए।
एमालेका उम्मेदवारसँग पराजित यी दुबै जनाले काँग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवारलाई हराउँदै विजयी भएका हुन्। जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई यहाँका मूख्य राजनीतिक दलले आफ्नो शक्तिका रूपमा लिने गरेका छन्।
यहाँका ७ वटा पालिकामध्ये ६ पालिकाको अन्तिम परिणाम आउँदा काँग्रेसले चारवटामा जित हात पारेको छ।
चार पालिका मध्ये काँग्रसले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र भागेश्वर गाउँपालिकामा प्रमुख र उपप्रमुखमा जित हात पारेको छ।
यस्तै, अजयमेरु गाउँपालिकाको उपप्रमुख पदमा विजयी भएको छ। नेकपा माओवादी केन्द्रले आलिताल गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा जित हात पारेको छ भने अजयमेरु गाउँपालिकाको प्रमुख पद जितेको छ।
अमरगढी नगरपालिकामा जित हात पारेपछि खुसीयाली मनाउँदै नेपाली काँग्रेसले जिल्ला सदरमुकाममा ¥याली निकालेको छ।