Radio Unity 92.2MHz

पालिका अध्यक्ष पार्कीको आग्रह: अहिले काम गर्न दिनू ‘बधाई’ पाँच वर्षपछि

डडेल्धुराः आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले आफूलाई बधाई अहिले नभई पाँच वर्षपछि दिन आग्रह गरेका छन्। उनले शुक्रबार आलिताल गाउँपालिका–१ को वडा कार्यालय उद्घाटन कार्यक्रममा आफ्नो कार्यकालको अन्त्यमा बधाई दिन नागरिकसँग आग्रह गरेका हुन्।

जनप्रतिनिधि भइसकेपछि पहिलो प्राथमिकता जनताको काम गर्नु भएकाले अहिले नै बधाई दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने अध्यक्ष पार्कीको तर्क छ। उनले भने, ‘हामी पहिला काम गरेर देखाऊ। तपाईंहरूले बधाई तथा धन्यवाद तब दिनुहोला जब हाम्रो गाउँपालिकाको टिमले पाँच वर्षमा राम्रो काम गर्छ। अनि मात्रै बधाई दिनुहोला।’

उनले पालिकामा कुनै पनि जनप्रतिनिधिलाई सानो र ठूलो नठान्ने पनि बताएका छन्। आफू पालिका अध्यक्ष भएपनि वडाध्यक्षहरूलाई नमस्कार गर्ने बानीको विकास गरेको उनको भनाइ छ। उनले कुनै पनि जनप्रतिनिधि र जनतालाई सानो ठान्ने प्रवृत्ति स्वीकारे नभएको बताएका छन्।

‘उमेरले म सानो छु। गाउँपालिका अध्यक्षको पदले ठूलोजस्तो देखिएपनि पहिला म आफैं वडाध्यक्षलाई नमस्कार गर्छु, त्यो मैले आफैंले उदाहरण पेश गरेका छु,’ अध्यक्ष पार्कीले भने, ‘म कसैलाई पनि सानो ठान्दैन। जनतालाई पनि सानो ठान्ने प्रवृत्ति गलत हो। हाम्रो व्यवहार र पार्टीको नीति निर्देशनले पनि यो स्वीकार गर्दैन।’

उनले ८ वटा वडाकै वडाध्यक्ष तथा जनप्रतिनिधिहरूसँगको हातेमालो गएर आलितालको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। जनप्रतिनिधि सबै बराबर भएकाले आठै वडाका वडाध्यक्षसँग विशेष सरसल्लाह गरेर अगाडि बढ्ने अध्यक्ष पार्कीको भनाइ थियो।

वडा कार्यालय उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधारविकास मन्त्री पठानसिंह बोहरा, गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल, वडाध्यक्ष यज्ञबहादुर देउवा, निवर्तमान वडाध्यक्ष पूर्णबहादुर ऐरलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...