डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा आगलागी भएको छ। शुक्रबार बिहान पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागि भएको हो।
आलिताल प्रहरी चौकिका इन्चार्ज भिमराज भट्टका अनुसार पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजात समेत आगलागीका कारण जलेको छ।
बाहिर राखिएको सूचना पार्टीमा समेत आगो लगेको उनको भनाइ छ। अहिले घटनाबारे अनुसन्धान भइरहेको छ।
पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजे तिर आगलागि भएको बताए। उनले भने, ‘पालिकामा बिहान आगलागी भएको हो। हाम्रो परिवार यतै पालिकाको क्यान्टिनमै बस्दै आएको छ। आगलागी भएको थाहा पाउने बित्तिकै निभाउन तिर लागे। र, थप क्षेती हुन पाएन्।’
आगलागीको घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।