डडेल्धुरा: डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले ६३ करोड ९१ लाख ९५ हजारको बजेट ल्याएको छ।
नगरपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमममार्फत् सो बजेट पेस गरिएको हो । नगरपालिकाको नीति तथा कार्यक्रम वडा नं. १० का अध्यक्ष खेमराज भट्टले प्रस्तुत गरेका हुन्।
अमरगढीले कूल बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकासका क्षेत्रमा छुट्याएको छ । उसले पूर्वाधार विकासमा २३ करोड १० लाख बजेट विनियोजन गरेको छ। अमरगढीले सामाजिक विकासमा २१ करोड ५० लाख ९६ हजार, संस्थागत सुशासन विकास र प्रशासनिक खर्चमा १५ करोड ४६ लाख, आर्थिक विकासमा २ करोड ६० लाख र वन वातावरण क्षेत्रमा १ करोड २५ लाख विनियोजन गरेको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा शसर्त अनुदानबाहेकको बजेटबाट उपभोग तथा चालु प्रकृतिका कार्यक्रमहरूलगायतका खर्च व्यवस्थापनको लागि कूल १३ करोड १ लाख ५० हजार चालुतर्फ, पूँजीवृद्धि तथा विभिन्न विकास निर्माणका लागि कूल १२ करोड ७६ लाख ४६ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ।
कोरोना महामारी लगायत सबै प्रकारका रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध साधनस्रोत, अवसर र क्षमताको उच्चतम् परिचालन गरी शीघ्र आर्थिक पुनरुत्थान गर्दै विकासको गतिलाई निरन्तरता दिने र नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्तिमार्फत् नगरको लोककल्याणकारी भूमिका बढाउने बजेटको उद्देश्य रहेको नगरपालिकाले जनाएको छ।
विकासको शीघ्र प्रतिफल प्राप्त हुने आगामी वर्षभित्र सम्पन्न हुने अधुरा आयोजनाहरूलाई कार्यान्वयन गर्ने, गुणस्तरीय र जीवनयोगी शिक्षा, सूचना प्रविधिको विस्तार आधारभूत खानेपानीलगायतका सामाजिक आर्थिक तथा भौतिक पूर्वाधारको विकास निर्माणलाई नगरपालिले प्राथमिकता दिने भएको छ।
यसैगरी नगरपालिकाले विपन्न नागरिकहरूलाई रोजगारी प्रदान गर्न प्रधामन्त्री रोजगार कार्यालयसँग साझेदारी गरी कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छ। अमरगढीले खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बालीको पकेट विकास कार्याक्रम संचालन गर्न प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँग साझेदारी गरी कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छ।
यस्तै, नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गरी पठनपाठनलाई थप गुणस्तरीय बनाउन विद्यालयहरूमा भौतिक पूर्वाधार निर्माण सुधारको व्यवस्थान गर्न बजेट विनियोजन गरेको छ। अमरगढी पर्यटन पूर्वाधार आयोजनालाई निरन्तरताका लागि पनि बजेट विनियोजना गरिएको छ।