Radio Unity 92.2MHz

एसिया कप २०२२ : भारतलाई आठौंपटक एसिया कप जिताउन सक्ने तीन खेलाडी

डडेल्धुरा: एसिया कप २०२२ का लागि भारतीय टोली तयारीमा जुटेको छ। यसका लागि चयनकर्ताले भारतीय टीमको घोषणा गरेका छन् । एसिया कप २७ अगस्टबाट सुरु हुँदैछ। भारत समूह ‘ए’ मा छ। समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् ।

कुवेत, हङकङ, सिंगापुर र युएइमध्ये एक टोली यस समूहमा रहने छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो।समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ । टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् ।

सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ। प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच २७ अगस्टमा प्रतिस्पर्धा हुनेछ।

रोहित शर्माको कप्तानीमा भारत आठौंपटक एसिया कपको उपाधि जित्न चाहन्छ। भारतीय टीममा उत्कृष्ट खेलाडीहरू छन् । तीमध्ये यहाँ भारतलाई एसिया कप जिताउन सक्ने तीन खेलाडीको बारेमा चर्चा गर्दैछौं ।

ऋषभ पन्त

ऋषभ पन्त अहिले तीनै प्रारूपको क्रिकेटमा भारतीय टोलीका लागि नम्बर एक विकेटकिपर ब्याट्सम्यान हुन् । यसपटकको एसिया कप टी-२० फर्म्याटमा खेलाइनेछ। पछिल्ला केही वर्षमा पन्तले आफ्नो ब्याटिङमा धेरै सुधार गरेका छन् ।

जब भारतीय टीम अप्ठ्यारो परिस्थितिमा पुग्छ, तब पन्त ढाल बनेर उभिन्छन्। पन्तको एक हातले छक्का प्रहार गर्ने तरिका लोकप्रिय छ । उनको विकेटकिपिङ कौशल पनि अचम्मको छ । पन्तले भारतका लागि ५४ टी-२० खेलमा ८८३ रन बनाएका छन् । एसिया कपमा कप्तान रोहित शर्माले उनीबाट धमाकेदार खेलको अपेक्षा गरेका छन् ।

सूर्यकुमार यादव

सूर्यकुमार यादवले सन् २०२१ मा भारतीय टोलीबाट डेब्यु गरेका थिए। त्यसबेलादेखि उनी उत्कृष्ट प्रदर्शन गरेर भारतीय टोलीका लागि मध्यक्रममा बलियो कडी बनेका छन् ।

उनले इंग्ल्यान्ड र वेस्ट इन्डिज भ्रमणमा आफ्नो खेलबाट सबैको मन जितेका छन् । उनले इङ्ल्यान्डविरुद्ध टी-२० क्रिकेटमा शतक बनाएका थिए । सूर्यकुमारलाई भारतका ‘एबी डिभिलियर्स’ भनिन्छ । उनी मैदानको चारैतिर स्ट्रोक बनाउन माहिर छन् । सूर्यकुमारले भारतका लागि २३ टी-२० खेलमा ६७२ रन बनाएका छन् ।

दीपक हुड्डा

दीपक हुड्डाले आयरल्यान्डविरुद्ध शतक प्रहार गर्दै भारतीय टीममा आफ्नो स्थान पक्का गरेका थिए । उनी क्रिजमा टिकेर ब्याटिङ गर्न माहिर छन् । उनीसँग हारेका खेल जिताउने क्षमता छ ।

ब्याटिङका अलावा हुड्डा बलिङमा पनि टोलीका लागि योगदान दिन सक्छन् । उनको स्पिन बलको सामु ब्याट्सम्यानलाई टिक्न निकै समस्या हुन्छ। हुड्डाले भारतका लागि नाै टी-२० खेलमा २७४ रन बनाएका छन् । जसमा एक शतक पनि समावेश छ ।

सम्बन्धित पाेष्टहरु
Loading...