Radio Unity 92.2MHz

प्रधानमन्त्री देउवा आउने भएपछि डडेल्धुरा बसपार्कको मर्मत सम्भार

डडेल्धुरा: प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आउने भएपछि डडेल्धुरा बसपार्कको मर्मत सम्भार गरिएको छ। देउवा आउने भएपछि अमरगढी नगरपालिकाले बसपार्क क्षेत्रमा रहेका खाल्टाखुल्टी पुरेको हो।

बसपार्कमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गर्ने सभालाई भोलि देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पहाडी जिल्लाको केन्द्रका रूपमा विकसित हुन थालेको डडेल्धुरा सदरमुकाम अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने जाने यात्रुले सास्ती भोग्नुपरेको परिरहको सवारी चालक जगदीश सार्की बताउँछन्।

‘खाल्टाखुल्टी पुर्दा हामीलाई सहज त भएको छ। तर, लामो समयसम्म राम्रो बसपार्क नहुँदा हामीले समस्या भोगेका छौं। भोलि प्रधानमन्त्री ज्यू आउँदै छन्। सोही भएर मर्मत सम्भार गरिनु हामी जनताको आँखामा छारो हाल्ने काम हो,’ उनले भने।

सडक विभागले भीमदत्त राजमार्ग निर्माणका क्रममा झण्डै दुई दशकअघि सदरमुकाम बागबजारको छेउमा निर्माण गरिदिएको सवारीसाधन विश्रामस्थललाई हाल बसपार्कका रूपमा प्रयोग गरिएको छ।

प्रधानमन्त्रीले आफ्नो गृहजिल्लामा बसपार्क नबनाउनु र तिनै देउवा डडेल्धुरा आउँदा बसपार्कमा टालाटुली हालेर जनतामा भ्रम फैलाउने काम भएको स्थानीय सुरत तमोलीले बताए। उनले देउवाले ३१ वर्षदेखि बसपार्क बनाउन नसक्न्ु दुखद भएको बताए।

डडेल्धुराबाट छैटौँ पटक चुनाव जितेर सातौं पटक चुनाव जित्ने दौडमा रहेका देउवाका चुनावी सभादेखि विभिन्न कार्यक्रमहरू यहीँ बस पार्कमा हुने गरेका छन्। अहिले पुरेको माटोले बसपार्क क्षेत्र धुलाम्मे हुने भन्दै नागरिक चिन्तित छन्।

तर, यता अमरगढी नगरपालिकाले भने प्रधानमन्त्री आउने भएर मात्रै मर्मत सम्भार नगरेको जिकिर गरेको छ। बसपार्क र सवारी चालकलाई मध्यनजर गर्दै काम भइरहेको नगरपालिकाले जनाएको छ। ‘देउवा आउनु र बसपार्क मर्मत सम्भार गरिनु संयोग भएको अमरगढी नगरपालिकाका एक कर्मचारीले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...