डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा बुधबार अर्थात् आजदेखि हुने भनिएको चौथो अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता फेरी सारिएको छ। आज एक खेलाडीले आत्महत्या गरेपछि खेलको उद्घाटन सत्र सारिएको पालिकाले जनाएको हो।
आलिताल गाउँपालिका–७ मेलगाजा बसोबास गर्ने राधिका साउदले घर नजिकै झुन्डिएर आत्महत्या गरेकी हुन। उनी ७ नम्बर वडाको महिला टिमबाट सहभागी थिइन्।
आज स्थगित भएको अध्यक्ष कप प्रतियोगिताको उद्घाटन भोलि हुने बताइएको छ। यसअघि प्रतियोगिता माघ १६ गतेदेखि सञ्चालन हुने भनिएता पनि खराब मौसमका कारण माघ २५ गतेका लागि सारिएको थियो।
चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ। तेस्तै द्धितिय पुरस्कार ५० हजार र तृतिय पुरस्कार ४० हजार दिने बताइएको छ। प्रतियोगितामा महिला र पुरुष दुबै तर्फको खेल हुनेछ भने पुरस्कार पनि महिला पुरूष दुबैलाई समान राखिएको छ।
प्रतियोगिता सञ्चालनका लागि आम भेलाले पालिका खेलकुद समितिका अध्यक्ष धिरेन्द्र बोहराको संयोजकत्वमा ११ जना व्यवस्थापन तथा निर्देशन समिति समेत गठन गरेको छ। प्रतियोगिता आलिताल गाउँपालिकाको प्रांगणमा सञ्चालन हुनेछन्।