डडेल्धुरा: जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम गर्ने भएको छ। यहीँ फागुन २२ गतेदेखि जिल्लाका सबै पालिकाका वडा तहसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गरिने भएको हो।
बुधबार जिल्ला सदरमुकाममा आयोजिक जिल्लास्तरीय अन्तरक्रियामा निर्वाचन अधिकारी करुणाकर अवस्थीले एकैपटक धेरैजनाको मतदाता नामावली संकलन गर्ने गरी कार्यक्रम संचालन गरिन लागिएको जानकारी दिए।
फागुन २२ गते सूचना तथा नामावली प्रकाशन, २३ गतेदेखि २५ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा दिने, २३ गतेदेखि २५ गतेसम्म नै मतदाता नामावलीमा कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोमाथि उजुरी दिन सक्ने जनाएको छ।
यही अवधिमा मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा आयोगमा निवेदन दिन सक्ने, मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउने, २८ गते परेका निवेदन बमोजिम जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने निर्वाचन अधिकारी अवस्थीले बताए।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक विश्वराज न्यौपानेले सबै राजनीतिक दलले कार्यक्रममा समन्वय गरिदिनुपर्ने बताए। उनले यस कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकार, राजनीतिक र जिल्लास्थित सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए।
अहिलेको कार्यक्रमले उपचुनाव भए सघाउ पुग्ने उनले बताए। जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले कार्यक्रममार्फत् बढीभन्दा बढी मतदाताको नाम संकलन गर्नुे औंल्याए।