Radio Unity 92.2MHz

डडेल्धुरामा क्षयरोगको संक्रमण बढ्दै, लुकेर बस्छन् रोगी

भागेश्वरले पनि मनायो दिवस

डडेल्धुराः डडेल्धुरामा क्षयरोगको संक्रमण बढ्दै गएको छ। विश्व क्षयरोग दिवस २०७९ को उपलक्ष्यमा शुक्रबार जिल्ला सदरमुकाम आयोजित बहुनिकाय अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराले क्षयरोगको संक्रमण बढेको तथ्याङ्क सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०७७/२०७८ मा डडेल्धुरामा एक सय ३१ जना क्षयरोगी थिए भने ०७८/२०७९ मा बढेर एक सय ४० पुगेको छ। ०७९/२०८० को हालसम्म ७४ जना क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्कमा छ।

यो आर्थिक वर्षको फागुनसम्म डडेल्धुरामा क्षयरोगका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सरुवा रोग नियन्त्रण फोकल व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।

उनकाअनुसार अमरगढी नगरपालिकामा ९, परशुराममा नगरपालिकामा २१, आलिताल र नवदुर्गा गाउँपालिकामा ११/११, भागेश्वरा गाउँपालिकामा ९, अजयमेरु र गन्यापधुरा गाउँपालिमा ६/६ जना संक्रमित भेटिएका छन्।

‘पछिल्ला वर्षहरूमा संक्रमण पत्ता लाग्ने दर बढेको छ। सोहीअनुसार संख्या पनि बढ्दै छ,’ उनले भने, ‘अझैं पनि धेरै मानिस उपचार गर्न आउँदैनन्। संक्रमणको पत्ता नलाग्नेको संख्या पनि उत्तिकै मात्रामा छ।’

डडेल्धुरामा संक्रमितको पत्ता लगाउनु पर्ने संख्या ३ सय ३१ रहेको कार्यालय प्रमुख केशर साउदको भनाइ छ। भारतसँग सीमा जोडिएको स्थानीय तहमा यो संख्या अझ बढी रहेको उनी बताउँछन्।

क्षयरोगको संक्रमण बढेसँगै जिल्लाका दुई पालिका अजयमेरू र गन्यापधुरलाई क्षयरोग मुक्त गाउँपालिका घोषणा गर्न कार्यक्रम अगाडी बढाइएको छ। क्षयरोगको उपचारका लागि डडेल्धुरा अस्पतालमा ‘डिआर’ केन्द्र रहेको छ।

डडेल्धुरा अस्पताल डडेल्धुराले क्षयरोग निदान तथा उपचारमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्य कार्यालयले दोसल्लाह र सम्मान पत्रसहित सम्मान गरेको छ।

यस्तै, दिवसको अवसरमा डडेल्धुरा अस्पतालमा रहेका क्षयरोगका बिरामीहरूलाई फलफूल वितरण समेत गरिएको छ।

यसैबीच, भागेश्वर गाउँपालिकाले पनि विश्व क्षयरोग दिवस २०७९ मनाएको छ।

शुक्रबार पालिकामा ‘हो हामी क्षयरोगको अन्त्य गछौं’ भन्ने नारासहित विश्व क्षयरोग दिवस मनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...