डडेल्धुरा: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिडेट अमरगढी शाखाको ‘केन्द्र प्रमुख गोष्ठी २०७९’ सम्पन्न भएको छ। बुधबार जिल्ला सदरमुकाममा सहकारीका संचालक विभाग प्रमुख रणबहादुर साउँदको सभापतित्वमा उक्त गोष्ठी सम्पन्न भएको हो।
गोष्ठीका अवसरमा सहकारीले उत्कृष्ट केन्द्र प्रमुख, उत्कृष्ट केन्द्र, किसान सहकारीमा आवद्ध भई स्थानीय तहको निर्वाचित जनप्रतिनिधलाई सम्मान गरेको छ। सहकारीले ‘जन्मदेखि मरणोपरान्तसम्म किसान कोष’ सदस्य सुरक्षण सुविधा पनि वितरण गरेको छ।
किसान सहकारीले अमरगढी नगरपालिका–४ मनुदेवी दमाईको परिवारलाई १ लाख ६५ हजार ९४८ रुयैयाँ र अमरगढी–३ गुजुलेकका गणेश पल्लेको परिवारलाई १८ हजारको चेक हस्तान्त्रण गरेको शाखा प्रमुख सुरत भूलले जानकारी दिए।
उनका अनुसार सहकारीले किसान कोष शिक्षा पदक पनि वितरण गरेको छ। वार्षिक रूपमा केन्द्रका सदस्यहरूले गरेका कामहरू, संस्थाले दिएका सेवाहरूको बारेमा वृहत् छलफल गर्ने उद्देश्यले गोष्ठी कार्यक्रम गरिएको उनले बताए।
कार्यक्रममा सहकारी संस्था र शाखाका बारेमा सुपरिवेक्षण विभाग प्रमुख प्रकाशकुमार जिसीले जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि अमगरगढी–८ का वडाध्यक्ष नरबहादुर साँकीले किसान सहकारीले नगरपालिका क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रशंसा गरे।
उनले सहकारीबाट लिएको पैसा उदेश्य अनुसार काम गर्न सदस्यहरूलाई आग्रह गरे। उनले भने, ‘कृषि गर्छु भनेर पैसा निकालेर छोराछोरीको बिहे गर्नमा खर्च नगर्नू होला। जे उद्देश्यले पैसा लिनुहुन्छ यसैमा खर्च गर्नुहोला।’
कृषिसम्बन्धि मात्रै होइन अन्य तालिमहरू पनि दिन सहकारी तयार रहेको संचालक विभाग प्रमुख रणबहादुर साउँदले बताए। तालिम लिएर प्रमाणपत्र मात्रै लिने नभई तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा पनि ल्याउनुपर्ने उनको भनाइ थियो।
सहकारीले आगामी दिनमा पनि नयाँ–नयाँ कामहरू गर्दै जाने बताए। सहकारीले नाफा कमाउने नभई स्थानीय महिलाहरूको आर्थिक स्तर उकास्ने मुख्य उद्देश्य लिएको उनले बताए।
अमरगढी शाखामा करिब ३ सय जति सेयर सदस्य संख्या रहेको शाखा प्रमुख भूलले जानकारी दिए। यो सहकारी संस्था २०५२ सालमा २७ जना सेयर सदस्यबाट सुरु गरिएको थियो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ४२ शाखा कार्यालयमार्फत् ७६ हजारभन्दा बढी परिवारलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ।