डडेल्धुराः जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मणबहादुर सिंह पुनः नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष करूणाकर ओझाको तीन वर्षे पदावधि सकिएपछि सिंह नयाँ अध्यक्ष नियुक्त भएका हुन्।
प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीस्तरको यहीँ वैशाख १७ गतेको निर्णयअनुसार वैशाख २३ गतेदेखि लागू हुने गरी सिंहलाई अध्यक्ष नियुक्त गरिएको जनाइएको छ।
डडेल्धुरा अस्पतालमा सिंहको यो अध्यक्षको रूपमा तेस्रो कार्यकाल हो। उनलाई अध्यक्षमा नियुक्त गरेको आधिकारिक पत्र बिहीबार मात्रै अस्पतालमा पुगेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल विकास समितिको सदस्यमा तेजबहादुर साउँद पनि मनोनित भएका छन्।
डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल हो। नवनियुक्त अध्यक्ष सिंह नेकपा (माओवादी केन्द्र) डडेल्धुराका नेतासमेत हुन्।