- शेर भण्डारी
डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटीखोलास्थित दैजी–जोगबुढा–लिप्ना–डडेल्धुरा सडकखण्ड अन्र्तगत पर्ने मोटरेबल पुल अलपत्र परेको छ।
थेगिम जुद्धा एण्ड पूर्णा सिंह दाङसँग ठेक्का सम्झौता भएको अढाई वर्ष पुग्दा समेत निर्माण कार्य सुरु हुन नसकेको हो।
सडक डिभिजन कार्यालय कुलपातेले २०७८ असोज ११ मा थेगिम जुद्धा एण्ड पूर्णा सिंह दाङसँग पुलको ठेक्का सम्झौता गरेको थियो। २०७९ माघ १० गते निर्माण सम्पन्न गरिनुपर्ने गरी समय निर्धारण गरिएको भएपनि काम नै सुरु हुन सकेको छैन्।
जबजब स्थानीयले पुलको बारेमा आवाज उठाउँछन् तब मात्रै निर्माण कम्पनीले काम सुरु गरेको जस्तो गर्ने गरेको स्थानीय यज्ञ ऐरले बताए। उनकाअनुसार गत वर्ष निर्माण कम्पनीले फाउन्डेसन खन्ने काम गरेको थियो।
तर, त्यो फाउन्डेसन वर्षातमा आएको खोलालले बगायो। तर, पुल बनेन्। यसपटक पनि निर्माण कम्पनीले फाउन्डेसन खनेको छ। तर, पुल बन्ने नबन्ने निश्चित छैन्।
पुल निर्माणका लागि ल्याएको सामग्री समेत खिया लागेर माटोमा बिलय हुन थालिसकेको ऐरको भनाइ छ।
निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीयको हिँड्ने बाटो र पिउने पानीको पाइप समेत खोलाले बगाउँला जस्तो भइसकेको स्थानीय रामदत्त पाण्डेयले जानकारी दिए।
दैजी–जोगबुढा–डडेल्धुरा सडकखण्ड अन्र्तगत पर्ने यो सडक भएर दर्जनौ गाउँका स्थानीय ओहोरदोहोर गर्ने गरेको उनी बताउँछन्।
‘खोला पारीका स्थानीयले लाखौं रकमको तरकारी उत्पादन गर्दछन्। तर, वर्षातमा खोला तर्न सकिन्न्। लाखौं मूल्य बराबरको तरकारी त्यसै खेर जान्छ,’ उनले भने, ‘पुल नबन्दा समस्या भएको छ, सरोकारवालाको ध्यान जाओस्।’
ठेक्का पाएको निर्माण कम्पनीले के कति काम गर्ने र कहिले सक्ने भन्ने होर्डिङ बोर्ड समेत राखेको छैन्। सडक डिभिजन कार्यालय कुलपातेका अनुसार निर्माण कम्पनीसँग ४ करोड ८ लाखमा भ्याटसहित सम्झौता भएको छ।
निर्माण कम्पनीले दुईवर्ष अघि पुल निर्माण गर्न कमदार पठाएको छ। तर, ठेकेदारको लापरबाहीले उनीहरू अन्यत्र काम गरिरहेका छन्।
ठेकेदारलाई प्यारालाइसीस भएको कारण काममा ढिलाई भएको थेगिम जुद्धा एण्ड पूर्णा सिंह दाङका साइड इन्चार्ज मंगलसिंह बस्नेतले जानकारी दिए। उनले जेठ २/३ गतेदेखि काम सुरु गर्ने योजना रहेको सुनाए।
पुल अलपत्र परेको विषयमा जनप्रतिनिधि र सरोकारवाला निकायलाई समेत जानकारी छ।
तर, वडा कार्यालयले पटक–पटक सरोकारवाला र ठेकेदारको ध्यानाआकर्षण गर्दा समेत ध्यान जान नसकेको अमरगढी नगरपालिका–३ का वडाअध्यक्ष तीर्थ ऐरले जानकारी दिए।
तोकिएको मितिमा काम सम्पन्न नहुँदा समेत सडक डिभिजन कार्यालय कुलपाते मौन रहेको भन्दै स्थानीय आक्रोशित छन्।
निर्माण सम्पन्न गर्ने म्याद सकिँदासम्म काम सुरु नभएको सडक डिभिजन कार्यालय कुलपातेका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिए।
‘ठेकेदार बिरामी भएको भन्ने खबर आएको थियो। अब म्याद पनि सकियो। जरीवाना तिरेर फेरि काम सुरु गर्न दिन्छौं,’ उनले भने, ‘नत्र ठेक्का तोडियो भने निर्माण कम्पनी कालो सूचीमा राखिन्छ।’